back
stc
prabhu insurance

सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सानिमा क्यापिटल योजना व्यवस्थापक तथा सानिमा बैंक कोष प्रवद्र्धक रहेको यो योजनाको १० करोड इकाईको सार्वजनिक निष्कासन गत वैशाख २४ गतेदेखि भएको थियो ।

यो योजनामा वैशाख २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर निर्धारित समयमा मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने समयावधि जेठ ७ गतेसम्मका लागि लम्बाइएको थियो ।

यो अवधिमा मागबमोजिम आवेदन प्राप्त भएकाले निर्धारित अवधि अगावै यो योजनाको इकाई बिक्री बन्द गरिन लागेको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।

कुल निष्कासनमा १ करोड ३० लाख इकाई सानिमा बैंक र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरिएको छ । लगानीकर्ताले  न्यूनतम १ सय  कित्ता र  अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो १० वर्षे बन्दमुखी योजना हो। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।