back
stc
prabhu insurance

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली हुनुभएको छ ।

प्रबन्ध निर्देशक अर्यालमाथि लागेको आरोपमा सम्मानित विशेष अदालतबाट पूर्ण रूपमा सफाई पश्चात नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (माननीय मन्त्रीस्तर) २०८३ असार २६ को निर्णयानुसार उहाँको निलम्बन फुकुवा भइ उहाँ टेलिकममा पुनर्बहाली हुनुभएको हो ।

पदबहाली कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्नुहुँदै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताउनुभयो ।

साथै उहाँले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्बोधनकै क्रममा उहाँले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औँल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने र नेपाल सरकारको भावना एवं मार्गनिर्देशन अनुरूप अविचलित तथा सत्यनिष्ठ भई नेपाल टेलिकमको जनआस्था र बजारको साखलाई थप सुदृढ बनाइ कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल टेलिकम आफ्ना ग्राहकवर्ग, सरोकारवाला तथा आम नागरिकप्रति गुणस्तरीय सेवा प्रवाह गर्न र कानुनी राज्यको मर्यादालाई आत्मसात गर्दै देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सदैव प्रतिबद्ध रहेको छ ।