सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा शतप्रतिशत उछाल, मुख्य सूचकमा उत्साहजनक वृद्धि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा निकै उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा १०६.६३ प्रतिशतको फड्को मार्दै ३९ करोड ८ लाख ४ हजार रुपैयाँ आर्जन गर्न सफल भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको यस्तो नाफा १८ करोड ९१ लाख ३६ हजार रुपैयाँ मात्र रहेको थियो । गत आवमा कम्पनीको आम्दानी सहितका सूचकमा भएको उत्साहजनक वृद्धिका कारण खुद नाफा बढ्न मद्दत पुगेको हो । यता कम्पनीको जीवन बीमाकोष १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँबाट २७ अर्ब ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको मुख्य व्यवसाय अर्थात् बीमाशुल्क आर्जनमा पनि बलियो सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि २१.५९ प्रतिशतले वृद्धि भई ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको देखिन्छ ।
यद्यपि व्यवसाय वृद्धिसँगै कम्पनीको कुल खर्च र दाबी भुक्तानीमा पनि वृद्धि भएको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
वि.सं.२०८३ साउन २९ ०७:०६




















