नाइमा नेपाल मोबिलिटी एक्स्पोको भव्य रौनक, तीन दिनमै ७७ हजार दर्शक
काठमाडौं ।काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको अभूतपूर्व घुइँचो लागेको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित छ दिने यस बृहत् मेलाको सुरुवाती तीन दिनमै ७७ हजारभन्दा बढी दर्शकहरूले सहभागिता जनाइसकेका छन् । प्रतिकूल मौसमका बाबजुद पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढी मानिसहरूले मेलाको प्रत्यक्ष अवलोकन गरेको आयोजक संस्था नाइमाले जनाएको छ ।
यस वर्षको एक्स्पोमा ५५ भन्दा बढी स्वदेशी तथा बहुराष्ट्रिय अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको छ, जसले ५२ वटा नयाँ मोडलका आधुनिक सवारीसाधनहरू सार्वजनिक गरेका छन् ।
विशेष गरी वातावरणीय दिगोपन र आधुनिक प्रविधिलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलामा विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनहरूप्रति उपभोक्ताको व्यापक आकर्षण देखिएको छ ।
मेलामा सहभागी वितरक कम्पनीहरूले आफ्ना नयाँ तथा आकर्षक सवारीसाधनहरू प्रदर्शन गर्दै ग्राहकहरूलाई विभिन्न छुट, न्यून ब्याजदरमा कर्जा, एक वर्षको निःशुल्क बिमा, निःशुल्क सर्भिसिङ र सवारी कर जस्ता आकर्षक सुविधाहरू उपलब्ध गराइरहेका छन् ।
प्रदर्शनीका साथसाथै मेलामा स्वदेशी तथा विदेशी विज्ञहरूको उपस्थितिमा ‘नाइमा मोबिलिटी संवाद’ तथा विभिन्न अन्तक्र्रिया कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्, जहाँ सवारी वित्तीय व्यवस्थापन, बिमा, र दिगो यातायात प्रणालीका विषयमा छलफल भइरहेको छ ।
नेपालमा हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने लक्ष्य राखिएको यो मेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । आयोजकहरूका अनुसार मेलाको अन्तिम दिनसम्ममा करिब १ लाख ५० हजार अवलोकनकर्ताले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।
वि.सं.२०८३ साउन २९ १३:४०




















