back
prabhu insurance
himalayanlife

भोटकोशी बाढीपीडितलाई शाइन रेसुङ्‍गा डेभलपमेन्ट बैंकका अध्यक्ष पौडेलको २५ लाख सहयोग

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन्।

शाइन रेसुङ्‍गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरुको सहयोगका लागि सचिव पौडेलले सहयोग रकमको चेक बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा हस्तान्तरण गरे।

बाढीपीडितहरुको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले चालेका हरेक कदममा हातेमालो गर्ने उद्देश्यले आफूले व्यक्तिगत रुपमा उक्त सहयोग गरेको सचिव पौडेलले बताए।

उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनर्स्थापानका लागि खुलेर सहयोग गर्न देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई उनले आह्वानसमेत गरेका छन्।

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको पौडेलको यो व्यक्तिगत योगदानले निजी क्षेत्रका नेतृत्वकर्ताले संस्थागत जिम्मेवारीसँगै मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई व्यक्तिगत तहबाट समेत अघि बढाउन सक्ने उदाहरण प्रस्तुत गरेको छ।