back
prabhu insurance
himalayanlife

सम्बन्धन प्राप्त शिक्षण संस्थालाई ३५ दिनको ताकेता

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले संस्था दर्ता ऐन, २०३४ को दफा ४ बमोजिम गैरनाफामूलक, सेवामूलक, सामाजिक, सामुदायिक, सार्वजनिक संस्था, प्रतिष्ठान वा गुठीका रूपमा दर्ता भई सम्बन्धन तथा स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेका शिक्षण संस्थालाई आफ्नो विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

परिषद्अन्तर्गतको स्तर निर्धारण तथा सम्बन्धन महाशाखा, सानोठिमी, भक्तपुरले सम्बन्धित शिक्षण संस्थालाई यस्तो निर्देशन दिएको हो ।

सम्बन्धन तथा स्वीकृति लिएका कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाले आफू जुन हैसियतमा दर्ता भई सम्बन्धन प्राप्त गरेका हुन्, सोही हैसियतमा सम्बन्धित दर्ता निकायबाट संस्था अद्यावधिक तथा नवीकरण गराउनुपर्नेछ ।

परिषद्ले त्यस्ता संस्थालाई आफ्नो संस्था अद्यावधिक तथा नवीकरण नगरी मिल्दोजुल्दो नाममा अन्य निजी कम्पनीमा दर्ता गर्न, संस्थाको नामसारी गर्न, स्वामित्व हस्तान्तरण गर्न वा सेयर खरिद बिक्री गर्न नपाइने स्पष्ट पारेको छ । सम्बन्धित शिक्षण संस्थाले अद्यावधिक तथा नवीकरणसम्बन्धी प्रमाणपत्रलगायत आवश्यक कागजात नोटरी प्रमाणित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यथार्थ प्रमाणसहित परिषद्मा पेस गर्नुपर्नेछ ।

तोकिएको समयसीमाभित्र विवरण अद्यावधिक गरी आधिकारिक कागजात पेस गरेको नपाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने परिषद्ले जनाएको छ । साथै सम्बन्धन तथा स्वीकृति खारेजीसम्मको प्रक्रिया अघि बढाउन सकिने चेतावनीसमेत परिषद्ले दिएको छ ।