आज सेयर कारोबार नहुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबार हुने नियमित शेयर कारोबार स्थगित भएको छ । ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा प्राविधिक समस्या आएका कारण कारोबार सञ्चालन हुन नसकेको हो ।
नेप्सेका अनुसार असोज ४ गते बिहानैदेखि डाटा हबको सर्भरमा प्राविधिक समस्या उत्पन्न भएको थियो । समस्या समाधानका लागि निरन्तर पहल भइरहे पनि सोमबारसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन ।
यस्तो जटिल परिस्थितिमा पनि जबरजस्ती कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमै गम्भीर क्षति पुग्न सक्ने जोखिम देखिएको थियो । सोही जोखिमलाई मध्यनजर गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गरिदिन नेप्सेसमक्ष लिखित निवेदन दिएको थियो ।
ब्रोकर एसोसिएसनको निवेदन र प्राविधिक जोखिमलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार सोमबारको कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
वि.सं.२०८३ असोज ५ ११:१७




















