नेपाल इन्स्योरेन्स ८०औँ वर्षमा प्रवेश, उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ८०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भएको कम्पनीले निर्जीवन बीमा सेवा प्रदान गर्दै ७९ वर्ष पूरा गरेको हो ।
कम्पनीले वि.सं. २००६ सालमा उद्योग परिषदबाट इजाजत प्राप्त गरेको थियो । त्यसपछि वि.सं. २०१६ सालमा नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड बनाइएको थियो । वि.सं. २०४८ सालमा पुनः नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गरिएको थियो । कम्पनीले बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा कम्पनी ऐन, २०६३ बमोजिम निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
८०औँ वर्ष प्रवेशको अवसरमा कम्पनीले आफ्नो स्थापनादेखि हालसम्म सहयोग गर्ने सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । कम्पनीले आगामी दिनमा पनि सबै सरोकारवालाबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
हाल नेपाल इन्स्योरेन्समा २९८ कर्मचारी कार्यरत छन् । कम्पनीले देशभर ५४ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले प्रचलित ऐन, कानुन तथा नियमनकारी निकायबाट जारी निर्देशनको पूर्ण पालना गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
वि.सं.२०८३ असोज ८ ०८:१२




















