back
prabhu insurance
himalayanlife

चाडपर्व लक्षित साल्ट ट्रेडिङको सुपथ पसल, सय रुपैयाँसम्म छुट

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले यस वर्षको दशैँ, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिसकेको छ । सुपथ मूल्य पसल साल्ट ट्रेडिङको देशैभरि रहेको वितरण केन्द्रहरूमा सञ्चालन गरिएको हो ।

यस संस्थाले हरेक वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । उपत्यकामा १३ स्थान र बाहिर जिल्लाहरूमा जम्मा ४१ स्थानमा सुपथ मूल्य पसल सुरु भइसकेको छ ।

यो पसल असोज एक गतेदेखि सुरु भएको हो भने छठ पर्वसम्म सञ्चालन हुनेछ र बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पायक पर्ने कर्पोरेसनको वितरण केन्द्रमा गएर किनमेल गर्न सकिनेछ । सुपथ पसल शनिबार पनि खुल्ला रहनेछ ।

यस्तो प्रकारको पसल सञ्चालन गर्नुको मुख्य उद्देश्य आम उपभोक्तालाई चाडपर्वमा हुने अस्वाभाविक मूल्य वृद्धि, कालोबजारी र बजारमा देखिएका अन्य किसिमका समस्याको सामना गर्न नपरोस् भन्ने रहेको साल्ट ट्रेडिङका सूचना अधिकारी मोहन थापाले बताए ।

उनले भने, ‘कर्पोरेसनले बिक्री वितरण गर्ने वस्तुहरू आम उपभोक्ताले सहुलियत र सहज रूपमा प्राप्त गरून् भन्ने मुख्य उद्देश्य हो ।’

चाडपर्व नजिकिँदै गर्दा हरेक वर्ष बजारमा चिनीको अभाव भएको भन्दै मूल्य आकासिने गरेको छ । प्रतिकेजी १०५ रुपैयाँमा पाइने चिनीको मूल्य अहिले १७० सम्म पुगेको छ ।

उपभोक्ताहरू पनि बाहिर बजारमा मनपरी मूल्य भएकाले साल्ट ट्रेडिङको वितरण केन्द्रमा सरकारले निर्धारण गरेकै मूल्यमा सामान पाइने बताएका छन् ।

दैनिक उपभोग्य खाद्यवस्तु किनमेल गर्न आएका हरि मिश्रले लाइन बस्नुपर्ने भएपनि बाहिर बजारमा भन्दा साल्ट ट्रेडिङमा धेरै सस्तोमा सामान पाइने बताए । उनका अनुसार चाडपर्व लक्षित सुपथ पसलमा चिनी प्रतिकेजी सय रुपैयाँमै उपलब्ध रहेको छ । जबकि बजारमा चिनीको मूल्य प्रतिकेजी १७० सम्म रहेको छ ।

‘म साल्ट ट्रेडिङको नियमित ग्राहक नै हो, बाहिर महँगो पर्ने भएकाले यतै आउने गर्छु, किनकि यहाँ ग्यास, चामलदेखि भान्सामा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीहरू सुपथ मूल्यमा पाइन्छन् ।’

साथै उपभोक्ता मिश्रले खाद्य सामग्रीका प्रकारहरू साल्ट ट्रेडिङ कर्पोरेसनमा अलि कम भएको र यदि अझ धेरै सामान पाइने हो भने उपभोक्ता कालोबजारीको मारमा नपर्ने सुझाव पनि दिए । उनि भविष्यमा कर्पोरेसनले यस विषयमा ध्यान दिनेमा आफू विश्वस्त रहेको पनि बताए ।

कति सम्म छुट पाइन्छ ?

चाडपर्व लक्षित सुपथ पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले दुई रुपैयाँदेखि सय रुपैयाँसम्म छुट दिएको कर्पोरेसनका सूचना अधिकारी मोहन थापाले बताए ।

उनका अनुसार, नुनको खुद्रा मूल्य २६ रुपैयाँ रहेको छ तर कर्पोरेसनले २ रुपैयाँ छुट दिएर २४ रुपैयाँमा उपलब्ध गराएको छ । त्यसैगरी चिनी प्रतिकेजी सय रुपैयाँ रहेको छ । यद्यपि चिनी र नुन भने प्रत्येक परिवारले ६ केजी मात्र पाउने व्यवस्था कर्पोरेसनले गरेको छ ।

चिउरा, दाल, मैदा र तेलमा ७ रुपैयाँसम्म छुट रहेको छ । चामलमा सय रुपैयाँसम्म छुट रहेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । दाल, गेडागुडी र अन्य खाद्यवस्तुमा पनि छुटको व्यवस्था रहेको छ ।

त्यसैगरी खाना पकाउने एलपी ग्यास पनि सरकारले निर्धारण गरेको मूल्यमै उपलब्ध गराइएको छ । कर्पोरेसनका सूचना अधिकारी थापाका अनुसार, ग्यास वितरणमा उपभोक्ताको सहजीकरणका लागि कुपनको व्यवस्था गरिएको छ ।

ग्राहकले सोही कुपन अनुसारको मिति र समयमा आएर ग्यास लिन सक्छन् । जसले गर्दा लाइन लाग्नुपर्ने झन्झट पनि भएन र समयको पनि बचत भयो । ग्यासको आपूर्ति सहज भएको खण्डमा कर्पोरेसनले नै ग्राहकलाई फोन गरेर ग्यास दिने गरेको छ । अहिले भने कुपनमार्फत नै असोज २२ गतेसम्मका लागि ग्यास बिक्री भइसकेको पनि कर्पोरेसनले जनाएको छ ।

उपत्यकामा कुन–कुन स्थानमा छ पसल ?

साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी मोहन थापाका अनुसार काठमाडौं उपत्यकामा कर्पोरेसनको १३ वटै वितरण केन्द्रमा सुपथ पसल सञ्चालन गरिएको छ ।

काठमाडौं उपत्यकाका उपभोक्ताले कालिमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर (सल्लाघारी), कौशलटार, काडाघारी, इमाडोल, महाराजगञ्ज, जोरपाटीको वितरण केन्द्रबाट दैनिक उपभोग्य खाद्यवस्तु किनमेल गर्न सक्नेछन् । त्यसैगरी ३ वटा घुम्ती पसल पनि सञ्चालन गरिएको छ ।

उपत्यका बाहिर कुन–कुन स्थानमा छ पसल ?

साल्ट ट्रेडिङ कर्पोरेसन अनुसार काठमाडौं उपत्यका बाहिरका जिल्लाहरूको प्रमुख सहरमा रहेको कर्पोरेसनको वितरण केन्द्रमा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ ।

उपत्यका बाहिरको विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, त्रिशूली, पोखरा, बाग्लुङ, भैरहवा, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी, टिकापुर, बेलौरी, अत्तरीया, दिपायल, डडेलधुरा, बैतडी (पाटन), महेन्द्रनगर, काभ्रे (बनेपा, धुलिखेल), त्यसैगरी कृष्णनगरमा भएको साल्ट ट्रेडिङको वितरण केन्द्रमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ ।
उक्त स्थानका उपभोक्ताले आफ्नो पायक पर्ने वितरण केन्द्रमा गई चाडपर्वका लागि सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य सामग्री किनमेल गर्न सक्नेछन् ।

आगामी दिनमा यो सुपथ मूल्य पसलको अवधारणा दुर्गम क्षेत्रसम्म विस्तार गर्ने योजना रहेको कर्पोरेसनले जनाएको छ । साथै पूर्वमा उत्पादन भएको खाद्यान्न पश्चिम दुर्गमसम्म पुर्‍याउने र दुर्गमका सामानहरू ल्याएर पूर्वमा बेचेर बजार व्यवस्थापनमा सन्तुलन कायम गर्ने योजना पनि साल्ट ट्रेडिङ कर्पोरेसनको रहेको छ ।