back
prabhu insurance
himalayanlife

धितोपत्र ब्रोकर कम्पनीलाई चार समूहमा वर्गीकरण

काठमाडौं । धितोपत्र दलाल व्यवसायी ब्रोकरलाई चार वर्ग विभाजन गरिएको छ । नेपाल धितोपत्र बोर्ड सेबोनले धितोपत्र दलाल व्यवसायीलाई पुँजी, जोखिम बहन क्षमता, सवा विविधकरण र संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरेको हो ।

जसमा बैंक तथा वित्तीय संस्था जस्तै ब्रोकरलाई पनि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा विभाजन गर्ने भनिएको छ । श्रेणी ‘क’ वर्गमा धितोपत्र व्यापारी, ‘ख’ मा पूर्ण सेवा धितोपत्र दलाल, ‘ग’ वर्गमा कारोबारमुखी धितोपत्र दलाल र ‘घ’ मा विशिष्टीकृत धितोपत्र दलाल रहने प्रस्ताव गरिएको छ ।

धितोपत्र दलाल व्यवसायी सुदृढीकरण नीतिले मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तर दिवसीय कारोबार तथा बजार निर्माता जस्ता गतिविधिका लागि छुट्टाछुट्टै स्वीकृति आवश्यक हुने व्यवस्था गरिएको छ ।

त्यस्तै, ग्राहक गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष तथा ग्राहकलाई दैनिक वा वास्तविक समयको विवरण उपलब्ध गराउने, संकटग्रस्त धितोपत्र दलाल व्यवसायीको व्यवस्थालाई समेत नीतिमा समेटिएको छ ।

नीतिले दलाल व्यवसायीको न्यूनतम चुक्ता पुँजीसँगै जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने व्यवस्था गरेको छ । प्रविधि र साइबर सुरक्षातर्फ डिजिटल केवाईसी, मल्टी–फ्याक्टर अथेन्टिकेसन, अर्डर तथा जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा संरचना, नियमित आइटी अडिट र पेनिट्रेसन टेस्टिङलाई अनिवार्य बनाउने प्रस्ताव गरिएको छ ।

यसैगरी, दलाल व्यवसायमा मर्जर प्राप्ति तथा व्यावसायिक एकीकरणलाई सहजीकरण गर्ने नीति लिइएको छ । विद्यमान दलाल व्यवसायीलाई नयाँ मापदण्डमा ल्याउन संक्रमणकालीन अवधि दिई पुँजी तथा प्रविधि स्तरोन्नति र पुनः वर्गीकरणको प्रक्रिया अघि बढाइने भएको छ ।

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति तीन चरण: संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार र एकीकृत धितोपत्र मध्यस्थता प्रणालीको विकास अनुसार क्रमशः कार्यान्वयन गरिने भएको छ ।