नागरिक लगानी कोषको सञ्चालकमा मुकुन्द क्षेत्री र सुमन दाहाल नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको सञ्चालक समितिमा मुकुन्द कुमार क्षेत्री र डा. सुमन दाहाल नियुक्त भएका छन् ।
नेपाल सरकार, अर्थमन्त्रीस्तरको निर्णयअनुसार क्षेत्रीलाई कोषको सञ्चालक समितिमा विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको हो ।
नागरिक लगानी कोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) को खण्ड (छ) बमोजिम क्षेत्रीलाई विज्ञ सदस्यमा नियुक्त गरिएको कोषले जनाएको छ ।क्षेत्रीले असोज १५ गते बसेको कोष सञ्चालक समितिको बैठकमा विज्ञ सदस्य पदको शपथ लिएका छन् ।
त्यस्तै, नेपाल सरकारको अर्थमन्त्रीस्तरको निर्णयअनुसार सहसचिव डा. सुमन दाहाललाई कोषको सञ्चालक सदस्यमा मनोनयन गरिएको छ ।
उनले पनि असोज १५ गते बसेको सञ्चालक समितिको बैठकमा सञ्चालक सदस्य पदको शपथ लिएका छन् । नागरिक लगानी कोषले दुवै नियुक्तिबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ।
वि.सं.२०८३ असोज १६ १०:०६




















