back
prabhu insurance
himalayanlife

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ।

विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाभित्रका सबै शाखा कार्यालयमार्फत यो सेवा विस्तार गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट तथा राहदानी (पासपोर्ट) सहित पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्मको अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने छ।

यसअघि सीमित मुख्य शाखाहरूबाट मात्र नगद विदेशी मुद्रा लिनुपर्ने बाध्यता रहेकामा अब उपत्यकाका सबै शाखाबाटै सटही सुविधा पाएपछि ग्राहकहरूको समय बचत हुनुका साथै यात्रा थप सहज र ढुक्क हुने विश्वास बैंकले लिएको छ।

उक्त सेवा सम्बन्धी थप जानकारी तथा सोधपुछका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘ग्लोबल कनेक्ट’ को फोन नम्बर ०१-५९७०६०० तथा इमेल globalconnect@gibl.com.np मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।