३० एमबीपीएसको इन्टरनेट प्याकेजबारे भ्रममा नपर्न टेलिकमको आग्रह
काठमाडौं । नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँको ३० एमबीपीएस इन्टरनेट प्याकेजका विषयमा तथ्यभन्दा फरक समाचार प्रकाशित तथा प्रसारित भएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।
टेलिकमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्याकेजको स्वीकृति र सञ्चालनका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले अनुमति पत्रका सर्तविपरीत काम गरेको सम्बन्धमा जारी गरेको विज्ञप्तिलाई आधार मानेर भ्रमपूर्ण समाचार सम्प्रेषण भएको टेलिकमको भनाइ छ ।
टेलिकमका अनुसार कम्पनीले सञ्चालन गर्ने प्याकेजहरूबारे स्वीकृतिका लागि विगतदेखि नै प्राधिकरणलाई पत्राचार गर्दै आएको छ । असोज ३० गते अफरका रूपमा सञ्चालनमा ल्याइएको ३० एमबीपीएसको प्याकेजबारे पनि प्राधिकरणलाई जानकारी गराइसकिएको कम्पनीले जनाएको छ ।
उक्त प्याकेज यसअघि विद्यार्थी अफरका रूपमा समेत सञ्चालनमा ल्याइएको टेलिकमको भनाइ छ । टेलिकमले नेपाल सरकारको स्वीकृत नीति तथा कानुनको परिधिभित्र रहेर सेवा सञ्चालन गर्दै आएको उल्लेख गर्दै कानुनको पालना गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले प्याकेजको स्वीकृति तथा सञ्चालनबारे आएका समाचारका विषयमा सरोकारवालालाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
वि.सं.२०८३ असोज ३१ १०:२१




















