मुक्तिनाथ विकास बैंक र इन्फोडेभलपर्सबीच ‘पुमोरी नेक्स्टजेन’ कार्यान्वयन सम्बन्धी समझदारी
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र इन्फोडेभलपर्स प्रा.लि.बीच पुमोरी नेक्स्टजेन कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) प्रेम थापा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रजय नेपालको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो ।
यो सहकार्यलाई नेपालको वित्तीय क्षेत्रमा डिजिटल प्रविधि क्षमता अभिवृद्धि र आधुनिक वित्तीय पूर्वाधार निर्माणतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।
इन्फोडेभलपर्सद्वारा विकसित पुमोरी नेक्स्टजेन एक आधुनिक, वेबमा आधारित र पूर्ण रूपमा एपीआई एकीकृत कोर बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ सञ्चालनलाई प्रभावकारी, विस्तारयोग्य र सुरक्षित बनाउँछ ।
यसको एपीआई-आधारित संरचनाले विभिन्न डिजिटल बैंकिङ च्यानलहरू, तेस्रो-पक्षीय एप्लिकेसनहरू, भुक्तानी गेटवेहरू तथा अन्य इन्टरप्राइज प्रणालीहरूसँग सहज एकीकरण सम्भव बनाउँछ ।
यस सहकार्य मार्फत कोर बैंकिङ पूर्वाधारको आधुनिकीकरण भई मुक्तिनाथ विकास बैंक भविष्यका डिजिटल नवप्रवर्तनका लागि तयार हुने र ग्राहकहरूलाई अझ छिटो, सुरक्षित तथा प्रभावकारी वित्तीय सेवा प्रवाह गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।
वि.सं.२०८३ कात्तिक १३ ११:०१




















