होन्डालाई उछिन्दै सुजुकी बन्यो जापानको दोस्रो ठूलो अटो कम्पनी
काठमाडौं । सुजुकी मोटर कर्पोरेसन विश्वव्यापी बिक्रीमा होन्डालाई उछिन्दै जापानको दोस्रो ठूलो अटोमोबाइल कम्पनी बन्न सफल भएको छ । सन् २०२६ को अप्रिलदेखि सेप्टेम्बरसम्मको बिक्री तथ्यांकअनुसार सुजुकीले होन्डालाई पछि पारेको हो ।
भारतमा मारुती सुजुकीमार्फत प्राप्त बलियो बजार मागका कारण सुजुकीको बिक्रीमा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा कम्पनीले विश्वभर १९.९ प्रतिशतले बिक्री बढाउँदै १८ लाख २० हजार युनिट पु-याएको छ । एक वर्षअघि सुजुकी जापानी अटो कम्पनीमध्ये चौथो स्थानमा थियो ।
यस अवधिमा होन्डाको विश्वव्यापी बिक्री भने ४ प्रतिशतले घटेर १६ लाख ६० हजार युनिटमा सीमित भएको छ । विशेषगरी चीनमा होन्डाको बिक्री ५० प्रतिशतले घट्दा कम्पनी प्रभावित भएको हो ।
विश्वकै ठूलो अटोमोबाइल उत्पादक टोयोटा भने ५० लाख ५० हजार युनिट बिक्रीसहित पहिलो स्थानमा कायम छ । तर, यसको बिक्री पनि अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेको छ । चीनमा टोयोटाको बिक्री २५.१ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ ।
अन्य जापानी कम्पनीमध्ये निसानको बिक्री ११.८ प्रतिशतले घटेर १३ लाख ५० हजार युनिटमा झरेको छ । माज्दाको बिक्री १.२ प्रतिशतले बढेर ६ लाख १० हजार, डाइहात्सुको ०.५ प्रतिशतले बढेर ४ लाख ९० हजार र सुबारुको ३.४ प्रतिशतले बढेर ४ लाख ७० हजार युनिट पुगेको छ । मित्सुबिसीको बिक्री भने ७ प्रतिशतले घटेको छ ।
जापानका आठ ठूला अटोमोबाइल कम्पनीले समीक्षा अवधिमा संयुक्त रूपमा १ करोड १८ लाख ३० हजार युनिट गाडी बिक्री गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशत कम हो ।
वि.सं.२०८३ कात्तिक १७ १३:५१




















