डिफेन्डरको झल्को दिने बीएआईसीको नयाँ एसयूभी, मूल्य निकै सस्तो
काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता बीएआईसीले ल्यान्ड रोभर डिफेन्डरको डिजाइनसँग मिल्दोजुल्दो देखिने नयाँ एसयूभी एक्सिङटान ५एक्स सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर १२ मा चीनमा सार्वजनिक गरेको यो एसयूभी इलेक्ट्रिक र प्लग–इन हाइब्रिड दुवै विकल्पमा उपलब्ध हुनेछ ।
यसको सुरुवाती विशेष अफर मूल्य १ लाख २६ हजार ९०० चिनियाँ युआन अर्थात् करिब १८ हजार ८९० अमेरिकी डलर तोकिएको छ ।
सातवटा भेरियन्टमा उपलब्ध हुने यस एसयूभीको नियमित मूल्य १ लाख २९ हजार ९०० देखि १ लाख ७४ हजार ९०० युआनसम्म छ । कम्पनीले प्रि–सेल सुरु भएको २३ दिनमै ३० हजार २०८ वटा अर्डर प्राप्त गरेको जनाएको छ ।
एक्सिङटान ५एक्सको बक्सी डिजाइन, सीधा अगाडिको भाग, समथर छत र पछाडिको स्पेयर ह्विलका कारण यसलाई चिनियाँ बजारमा ‘पिपुल्स डिफेन्डर’ र ‘पुअर्स म्यान्स डिफेन्डर’ समेत भन्न थालिएको छ । यद्यपि कम्पनीले यसलाई मुख्यतः सहरी प्रयोग र पारिवारिक यात्राका लागि तयार पारेको हो ।
यसको लम्बाइ ४ हजार ८६५ एमएम, चौडाइ २ हजार एमएम र उचाइ १ हजार ९१० एमएम छ। ह्विलबेस २ हजार ८७५ एमएम रहेको छ ।
यसको इलेक्ट्रिक भर्सनमा ८१.९ किलोवाट आवरको एलएफपी ब्याट्री र २२७ किलोवाट क्षमताको रियर माउन्टेड मोटर दिइएको छ । कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा ६२५ किलोमिटर रेन्ज दिन्छ ।
८०० भोल्टको विद्युतीय प्लेटफर्ममा आधारित यसलाई डीसी फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १४.५ मिनेट लाग्ने दाबी गरिएको छ ।
यसको प्लग–इन हाइब्रिड भर्सनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र ५०.४ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा दुईपांग्रे र चारपांग्रे ड्राइभ विकल्प उपलब्ध छन् ।
टु ह्विल ड्राइभ भर्सनले ३१० किलोमिटर र फोर ह्विल ड्राइभले २८५ किलोमिटर इलेक्ट्रिक रेन्ज दिने कम्पनीको दाबी छ । फोर ह्विल ड्राइभमा अगाडि र पछाडि दुईवटा २०० किलोवाटका मोटर प्रयोग गरिएको छ, जसको संयुक्त क्षमता ४०० किलोवाट अर्थात् ५३६ हर्सपावर हुन्छ ।
यसका केही भेरियन्टमा हुवावेको क्यानकुन एडीएस ५ प्रो ड्राइभर असिस्टेन्स प्रणाली उपलब्ध हुनेछ । यसमा ११ वटा क्यामेरा, तीनवटा ४डी मिलिमिटर वेभ राडार, १२ वटा अल्ट्रासोनिक सेन्सर र एउटा सोलिड स्टेट लाइडारसहित २७ वटा सेन्सिङ उपकरण जडान गरिएको छ ।
एसयूभीमा १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा उच्च भेरियन्टमा दुईवटा १५.६ इन्चका स्क्रिन उपलब्ध छन् ।
डिफेन्डरजस्तै देखिने डिजाइन भए पनि बीएआईसीले एक्सिङटान ५एक्सलाई वास्तविक अफरोड एसयूभीभन्दा सहरी तथा पारिवारिक प्रयोगलाई प्राथमिकता दिएर विकास गरेको छ ।
वि.सं.२०८३ कात्तिक २७ १२:२३




















