भेस्पाका तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक
काठमाडौं । इटालियन स्कुटर निर्माता भेस्पाले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर रेन्ज सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा स्प्रिन्ट एस, प्रिमाभेरा र प्रिमाभेरा टेक गरी तीन मोडल ल्याएको हो ।
यी स्कुटरमा भेस्पाको परम्परागत डिजाइनलाई कायम राख्दै नयाँ इलेक्ट्रिक मोटर र आधुनिक प्रविधि समावेश गरिएको छ ।
नयाँ इलेक्ट्रिक रेन्जमा २.३ किलोवाट आवर र ४.२ किलोवाट आवर क्षमताका ब्याट्री उपलब्ध छन्। स्प्रिन्ट एस र प्रिमाभेरामा २.३ किलोवाट आवरको रिमुभेबल ब्याट्री दिइएको छ भने प्रिमाभेरा टेकमा ठूलो ४.२ किलोवाट आवरको ब्याट्री राखिएको छ ।
स्प्रिन्ट एस र प्रिमाभेरामा ३.१ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । यसले २.७ किलोवाट निरन्तर पावर र २०० एनएम टर्क उत्पादन गर्छ । यी दुवै स्कुटरको अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा रहेको छ भने डब्लूएमटीसी परीक्षणअनुसार रेन्ज ६८ किलोमिटर छ ।
५०० वाटको चार्जर प्रयोग गर्दा ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ४ घण्टा लाग्ने कम्पनीले जनाएको छ । ब्याट्रीसहित यी दुवै स्कुटरको तौल १११ किलोग्राम छ ।
तीनमध्ये प्रिमाभेरा टेक सबैभन्दा प्रिमियम मोडल हो । यसमा ४.२ किलोवाट आवरको ब्याट्री र ३.६ किलोवाट निरन्तर पावर दिने मोटर उपलब्ध छ । यसले डब्लूएमटीसी परीक्षणअनुसार ८० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यसको तौल १३० किलोग्राम छ ।
यसमा ४.३ इन्चको टीएफटी डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, किलेस इग्निसन, फाइन्ड माइ स्कुटर र इको तथा पावर गरी दुई राइड मोड दिइएको छ ।
तीनवटै स्कुटरमा अल एलईडी लाइटिङ, अगाडि २०० एमएम डिस्क र पछाडि १४० एमएम ड्रम ब्रेक दिइएको छ । प्रिमाभेरा टेकमा भने सिंगल च्यानल एबीएससमेत उपलब्ध छ ।
भेस्पाले हाल भारतमा पेट्रोल इन्जिनयुक्त स्कुटर बिक्री गर्दै आए पनि नयाँ इलेक्ट्रिक रेन्ज भारतमा सार्वजनिक गर्ने विषयमा आधिकारिक घोषणा गरेको छैन । भारतमा उपलब्ध भएमा यी स्कुटर नेपाली बजारमा समेत भित्रिने निश्चितप्राय छ ।
वि.सं.२०८३ कात्तिक २९ १२:३६




















