back
prabhu insurance
himalayanlife

मिदास हेल्थ सर्भिसेजद्वारा नेपालकै पहिलो माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक

काठमाडौं । नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ।

यससँगै कम्पनीले नेपालको डिजिटल स्वास्थ्य सेवा रूपान्तरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।

परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो। कम्पनीका अनुसार, नेपालमा स्वास्थ्य संस्थाहरूलाई यस्तो उन्नत प्रविधिमा आधारित एचएमआइएस उपलब्ध गराउने मिदास पहिलो तथा एकमात्र कम्पनी हो।

यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै, तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बनाउँछ।

२५ वर्षभन्दा बढीको अनुभवसहित मिदासले केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिकसमेत गरी २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार, पछिल्लो स्तरोन्नतिले अस्पतालको सूचना प्रणालीलाई थप लचिलो, विस्तारयोग्य र भरपर्दो बनाउँदै बदलिँदो आवश्यकता तथा सेवाग्राहीको चापअनुसार छिटो अनुकूलन गर्न सहयोग पुर्‍याउनेछ।

मोनोलिथिक र माइक्रोसर्भिसेस आर्किटेक्चरबीचको भिन्नता
मोनोलिथिक संरचनामा अस्पतालका बिलिङ, फार्मेसी, बिरामी अभिलेख, प्रयोगशाला प्रतिवेदनलगायत सबै सेवा एउटै ठूलो सफ्टवेयर संरचनाभित्र सञ्चालन हुन्छन्। त्यसैले कुनै एउटा विभागमा प्राविधिक समस्या आएमा वा त्यसको प्रणाली अद्यावधिक गर्नुपरेमा अन्य सेवा पनि प्रभावित हुन सक्छन्। यस्तो संरचनामा आवश्यकता अनुसार प्रणाली विस्तार तथा परिमार्जन गर्न तुलनात्मक रूपमा कठिन हुन्छ।

माइक्रोसर्भिसेस आर्किटेक्चरमा भने बिलिङ, फार्मेसी र बिरामी अभिलेखजस्ता सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा स्वतन्त्र सञ्चालन हुन्छन्। कुनै एउटा मोड्युलमा सुधार वा अद्यावधिक गर्दा अन्य विभागको कामकाजमा असर नपर्ने गरी परिवर्तन गर्न सकिन्छ।

यसले प्रणालीको निरन्तरता कायम राख्न, सेवा अवरोध न्यून गर्न, कार्यसम्पादन छरितो बनाउन तथा आवश्यकताअनुसार निश्चित विभागको क्षमता विस्तार गर्न सहयोग पुर्‍याउँछ।
स्वास्थ्य संस्थाका लागि प्रमुख फाइदा
• उच्च उपलब्धता र निरन्तर सेवा: कुनै एउटा मोड्युलमा समस्या आए पनि सम्पूर्ण प्रणाली बन्द हुनुपर्ने अवस्था कम हुन्छ, जसले बिरामीलाई सेवा निरन्तर उपलब्ध गराउन मद्दत गर्छ।
• विस्तारयोग्यता: अस्पतालले सम्पूर्ण सफ्टवेयर संरचना परिवर्तन नगरी नयाँ सुविधा थप्न तथा बिरामीको बढ्दो चापअनुसार आवश्यक मोड्युलको क्षमता विस्तार गर्न सक्छन्।
• छिटो नवप्रवर्तन: नयाँ सुविधा तथा प्रविधिगत अद्यावधिक छिटो कार्यान्वयन गर्न सकिने भएकाले स्वास्थ्य संस्थाले विकसित हुँदै गरेका आवश्यकता सम्बोधन गर्न सक्छन्।

सफल कार्यान्वयन तथा स्तरोन्नति
मिदासले विद्यमान ग्राहक संस्थाहरूको HMIS स्तरोन्नति गर्नुका साथै नयाँ साझेदार संस्थाहरूमा पनि माइक्रोसर्भिसेसमा आधारित प्लेटफर्म सफलतापूर्वक कार्यान्वयन गरिसकेको जनाएको छ।

आफ्नो विद्यमान एचएमआइएस प्रणालीलाई माइक्रोसर्भिसेस आर्किटेक्चरमा स्तरोन्नति गरी नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, ह्याम्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी हस्पिटल, हस्पिटल फर चिल्ड्रेन, आई, ईएनटी एण्ड रिह्याबिलिटेसन सर्भिसेज, भीम हस्पिटल र मणिपाल मेडिकल कलेज लगायतका प्रमुख स्वास्थ्य संस्थाहरूमा सफलतापूर्वक कार्यान्वयन गरिसकेको छ।

यसका अतिरिक्त, नयाँ माइक्रोसर्भिसेसमा आधारित एचएमआइएस चरक मेमोरियल हस्पिटल प्रा. लि., फिस्टेल हस्पिटल, तिलोत्तमा हस्पिटल प्रा. लि., भरतपुर सामुदायिक हस्पिटल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी हस्पिटल, रिदम न्युरोसाइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टर, डीआई डेन्टल हस्पिटल तथा शियर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलमा समेत सञ्चालनमा ल्याइसकिएको छ।

यस पहलले नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अस्पतालका सेवा तथा प्रशासनिक प्रक्रियालाई डिजिटल माध्यममा रूपान्तरण गर्न, स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र कार्यदक्षता अभिवृद्धि गर्न तथा समग्र राष्ट्रिय स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरणलाई गति दिन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा कम्पनीले गरेको छ।

मिदास हाल किस्ट मेडिकल कलेज टिचिङ हस्पिटल तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लगायतका अन्य प्रतिष्ठित स्वास्थ्य संस्थाहरूको प्रणाली स्तरोन्नति गर्ने प्रक्रियामा रहेको छ।

साथै, मोनोलिथिक आर्किटेक्चरमा सञ्चालन भइरहेका आफ्ना बाँकी ग्राहक संस्थाहरूसँग सहकार्य गर्दै उनीहरूको प्रणालीलाई पनि यस उन्नत प्रविधिमा रूपान्तरण गर्ने कार्य अघि बढाइरहेको कम्पनीले जनाएको छ।

मिदास हेल्थ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अंकित भण्डारीले मिदासमा हामी केवल सफ्टवेयर उपलब्ध गराउँदैनौँ; हामी दीर्घकालीन साझेदारी निर्माण गर्छौँ भनेका छन् ।

भण्डारीले नेपालमा माइक्रोसर्भिसेस आर्किटेक्चर भित्र्याएर स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई उनीहरूको आवश्यकतासँगै विकसित हुँदै जाने प्रणाली प्रदान गरिरहेको तथा हस्पिटलहरूले बिरामीको उपचार सेवा तथा अस्पताल प्रशासनलाई अझ प्रभावकारी बनाउन भरपर्दो, कार्यकुशल र नवीन उपकरण प्राप्त गरून् भन्नेमा कम्पनी प्रतिबद्ध रहेको बताए।