back
prabhu insurance
himalayanlife

वैदेशिक लगानी बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा सवा चार अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।

गत वर्ष सो अवधिमा एक अर्ब ७४ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आर्थिक वर्षको सो अवधिको तुलनामा चालु आर्थिक वर्षमा दोब्बर बढीले वैदेशिक लगानी भित्रिएको हो ।

यसैबिच चालु आर्थिक वर्षको चार महिनामा १९ अर्ब ५५ करोड रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि कात्तिकसम्म ४९७ परियोजना मार्फत सो लगानी प्रतिबद्धता आएको छ ।

गत आर्थिक वर्षको सो अवधिमा ३६ अर्ब ६८ करोड रुपियाँ बराबर लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्ष गत आर्थिक वर्षको तुलनामा झन्डै आधा कम लगानी प्रतिबद्धता कम भएको विभागको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै ४९१ साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । यस्तै चार ठुला र दुई मझौला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा सबैभन्दा धेरै १८६ पर्यटनमूलक उद्योगमा आठ अर्ब ६६ करोड प्रतिबद्धता आएको छ ।

त्यस्तै ऊर्जामूलक तीन उद्योगमा चार अर्ब पाँच करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवामूलक ४४ उद्योगमा तीन अर्ब ९५ करोड प्रतिबद्धता आएको विभागले जनाएको छ । सङ्ख्यात्मक रूपमा सबैभन्दा धेरै उद्योग सूचना प्रविधिमा २७२ वटा दर्ता भएको तथ्याङ्क छ । यस्तै उत्पादनमूलक २९ उद्योगमा एक अर्ब ७५ करोड बराबर लगानी प्रतिबद्धता आएको देखिएको छ ।