आज बुधबार प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । आज जेठ २६ गते बुधबार प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बाँकी १५ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रभुले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गरेको हो । यसमा वार्षिक ८.५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ । प्रभु बैंकको न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् ।
यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।
वि.सं.२०७८ जेठ २६ ०७:४५