back
stc
prabhu insurance

सिटिजन्स बैैंक अर्वपति क्लवमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लि. ले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेको छ । प्रत्येक त्रैमासमा प्रायः सबैभन्दा पहिला नै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आएको सिटिजन्स बैंकले यसपाली पनि आफ्नो विगतको परम्परालाई निरन्तरता दियो ।

बैंकले गत २०७८ असार मसान्तसम्ममा करिब १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहको अवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ५५ प्रतिशत र ५२ प्रतिशतले बढी देखिएको छ।

बैंकले प्रतिसेयर आम्दानी करिब ११ प्रतिशत, खुद व्याज आम्दानी करिब २५ प्रतिशत, फि एण्ड कमिसन आम्दानी करिब ४१ प्रतिशत, गैरव्याज आम्दानी करिब ३५ प्रतिशत, संचालन नाफा करिब ३५ प्रतिशत, वितरणयोग्य नाफा करिब ७६ प्रतिशत र खुद नाफा करिब ३३ प्रतिशतले बढाएको पाइएको छ ।

सिटिजन्स बैंकले एग्रेसिभ बृद्विलाई भन्दा पनि क्वालिटी बृद्विलाई बढी ध्यान दिएको छ । यश बैंकले अधिकांश वर्षहरुमा सेयरधनीलाई दोहोरो अंकमा प्रतिफल दिइरहेको छ। बैंकले आगामी दिनहरुमा पनि दोहोरो अंकमै प्रतिफल दिने लक्ष्यका साथ काम गरिरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल बैंकको सिइओमा सुनिल पोखरेल र अध्यक्षमा राजनसिंह भण्डारी आएपछि बैंकले हरेक क्षेत्रमा गति लिएको छ।

बैंक तथा वित्तीय संस्था प्राप्तिपछि बजारमा सिटिजन्स बैंकको स्ट्रेन्थ विस्तारित शाखा संजाल, ठूलो चुक्ता पूँजी, ग्राहक संख्या तथा व्यवसायिक, प्रतिस्पर्धात्मक, दक्ष, कर्मठ मानव संसाधनमा धेरै अगाडि छ ।

विगत एक वर्षको अन्तरालमा यस बैंकले तीनवटा वित्तीय संस्थाहरु प्राप्ति गरिसकेको छ । यस बैंकले २०७७ साल असार २० गते नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक जनकपुर केन्द्रीय कार्यालय रहेको, २०७७ चैत्र १४ गते राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक र २०७८ असार २६ गते नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ ।

यीभन्दा अघि पनि बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स र प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको थियो । बैंकले स्थापनाकालदेखि हालसम्म कुल ६ वटा वित्तीय संस्थाहरुलाई आफूमा समाहित गरी बैंक सप्तरंगी भइसकेको छ ।

बैंक तथा वित्तीय संस्था प्राप्तिपछि बैंकको शाखा संजालमा आमुल परिवर्तन आएको छ । सहयोगी विकास बैंक प्राप्तिअघि यस बैंकको धनुषा, महोत्तरीमा ४ वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त क्षेत्रमा हाल बैंकले १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।

त्यसैगरी, तिनाउ मिसन डेभलपमेण्ट बैंक प्राप्ति पश्चात यस बैंकको वागमती प्रदेशमा ५ वटा, गण्डकी प्रदेशमा ५ वटा तथा लुम्बिनी प्रदेशमा ४८ वटा गरी कुल ५८ वटा शाखाहरु थपिएका छन् । यसैगरी, सिर्जना फाइनान्स प्राप्ति पश्चात प्रदेश नं १ मा १४ वटा र प्रदेश नं २ मा ७ वटा गरी कुल २१ वटा शाखाहरु थपिएका छन् ।

हाल यस बैंकले प्रदेश नं १ मा २७, प्रदेश नं २ मा २७, वागमती प्रदेश मा ४३, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ५९, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ वटा शाखा गरी कुल १८४ वटा शाखाहरुबाट सेवा प्रवाह गरिरहेको छ ।

अर्को स्ट्रेन्थ यस बैंकको चुक्ता पूँजी हो । यस एक वर्षको अन्तरालमा चुक्ता पूँजी करिव ४६ प्रतिशतले बढेको छ । यी ३ वटै संस्थाहरु प्राप्तिअघि यस बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी ग्राहक संख्यामा पनि ठुलो परिवर्तन आएको छ । एक वर्षको अन्तरालमा ग्राहक संख्या शत प्रतिशतले बढेको छ । प्राप्तिअघि यस बैंकले करिव ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएकोमा हाल करिव १२ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।

यश बैंकको अर्को महत्वपूर्ण पाटो भनेको मानव संसाधन हो । बैंकले यस प्राप्तिहरुबाट व्यवसायिक, प्रतिस्पर्धात्मक, दक्ष, कर्मठ मानव संसाधन भित्राउने मौका पाएको छ । यसलाई बैंकले अवयवको रूपमा हेर्दै आएको छ । कुनै पनि संस्थाको सफलता वा असफलता त्यस संस्थामा काम गर्ने व्यक्तिमाथि नै भर पर्छ।यश बैंकका कर्मचारी लगनशिल,मेहनती,इमानदार,कर्तव्यनिष्ट र जिम्मेवार रहदै आएका छन् ।

यस बैंकले सहयोगी विकास बैंकबाट ८४ जना, तिनाउ मिसन डेभलपमेण्ट बैंकबाट ४५४ जना र सिर्जना फाइनान्सबाट १४४ जना गरी कुल ६८२ जना दक्ष मानव संसाधन पाएको छ, जुन सबैभन्दा ठूलो स्ट्रेन्थ हो ।

प्राप्तिबाट वित्तीय संस्थाहरुको संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई समेत सहयोग पुगेको छ भने देशमा व्यवसायिक क्रियाकलाप एवं समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुगेको देखिन्छ ।

साथै बैंकको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय परिसूचक, मानव–संशाधन तथा प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुनाको साथै देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुगेको पाइन्छ।

सेवाग्राही केन्द्रीत, सेवामा उत्कृष्टता र इमान्दारीता, मिजासिला र उत्कृष्ट जनशक्ति, जवाफदेहीता र पारदर्शीता सहितको संस्थागत सुशासनका साथै देश विकासका लागि सामाजिक अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता सहित देशको २० औं वाणिज्य बैंकको रुपमा २०६४ बैशाख ७ गते सिटिजन्स बैंक इन्टरनेशनल लि. को स्थापना भएको थियो।

५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको सिटिजन्स बैंक इन्टरनेशनलले झण्डै १५ वर्षे यात्रा अवधिमा चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुरयाएको छ ।

स्थापना भएको करिब डेढ वर्षमा ३० करोड रुपैयाँ बरावरको साधारण शेयर निष्काशन गरेर बैंकले चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याएको थियो ।

बैंकले साधारण शेयर निष्काशनपछि हालसम्म लगानीकर्तालाई २ आर्थिक वर्षमा बाहेक हरेक आर्थिक वर्षमा दोहोरो अंकको प्रतिफल दिँदै आएको छ ।

स्थापना वर्ष २०६३/६४ मा बैंकले कुल ८८ दिन कारोवार संचालन गरेको थियो । उक्त अवधिमा ११४४ ग्राहकबाट कुल १ अर्ब ५५ करोड ३१ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी २५३ ग्राहकहरुलाई २ अर्ब ४ करोड ६७ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा बैंकले ५२ लाख ११ हजार रुपैयाँ संचालन नाफा गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा १२ लाख ३ हजार १९१ ग्राहक बाट करिब १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५८ हजार ८५४ ग्राहकहरुलाई करिव १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले करिब २ अर्ब १५ करोड रुपैयाँ संचालन नाफा गरेको छ भने खुद नाफा करिब १ अर्ब ५९ करोड रुपैयाँ छ ।

स्थापनाको पहिलो वर्ष बैंकले ५ वटा शाखाबाट सेवा प्रदान गर्दै आएकोमा आजको दिनमा बैंकले देशैभरि फैलिएका १८४ शाखाहरुबाट बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

सर्वोत्कृष्ट सेवाका लागि परिचित अग्रपंक्तिको बैंकका रुपमा स्थापित हुने लक्ष्य लिएको बैंकले स्थापना हुँदा ४४ जना कर्मचारीबाट बैंकिङ सेवा प्रदान गरेकोमा हाल बैंकले १ हजार ६ सय ६२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि देखिएको छ । आजभन्दा १० वर्ष अघि १९ करोड ८० लाख रुपैयाँमा सीमित रहेको बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर एक अर्ब रुपैयाँभन्दा माथि रहँदै आएको छ ।

सिटिजन्स बैंक उत्कृट १० वाणिज्य बैंकभित्र पर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । यसबाट बैंकका लगानीकर्तालाई बितरण गरिने प्रतिफलको दरमा आकर्षक सुधार गरी आगामी वर्षहरुमा पनि दोहोरो अंक कायम गरिरहने योजना रहेको बैंकको दावी रहेको छ ।

२०७८ असार मसान्तसम्मको तथ्यांकको आधारमा यस बैंकले सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४३ अर्ब रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। जुन गत वर्षको तुलनामा क्रमशः ५५ प्रतिशत र ५२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी १५।३८, खुद व्याज आम्दानी करिब ३ अर्ब ६० करोड, फि एण्ड कमिसन आम्दानी करिव ८२ करोड, गैरव्याज आम्दानी करिब १ अर्व ५२ करोड, संचालन नाफा करिब २ अर्ब १५ करोड, वितरणयोग्य नाफा करिब १ अर्ब ८० करोड, खुद नाफा करिब १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

जुन गत वर्षको तुलनामा क्रमशः करिब ११ प्रतिशत, २५ प्रतिशत, ४१ प्रतिशत, ३५ प्रतिशत, ३५ प्रतिशत, ७६ प्रतिशत र ३३ प्रतिशतले बढी हो । यस बैंकले हाल देशभर १८४ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।