back
stc
prabhu insurance

 सबै वाणिज्य बैंकको आधार दर (बेस रेट ) घटे

काठमाडौं । एक वर्षको अवधिमा सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको आधार दर (बेस रेट ) घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सबै वाणिज्य बैंकहरुको बेस रेट घटेको हो ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार बेस रेट हो । बैंकहरुले बेस रेटमा केही प्रतिशत प्रिमियम जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

तसर्थ, बेस रेट घट्दा बैंकहरुको ब्याजदर पनि घट्ने गर्दछ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले बेस रेटमा कति प्रिमियम जोड्ने भन्ने अधिकार भने बैंकहरुलाई दिने उल्लेख गरेको छ ।

तथापि, उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम् २५ विन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

कर्जाको ब्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर हो । तर, आधार दर कर्जाको वास्तविक ब्याजदर होइन । यो ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई ब्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ ।

अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर ब्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

आम रुपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । यता, बैंक ब्याजदर र सेयर बजारबीच जहिले पनि विपरीत सम्बन्ध हुने गर्छ । सामान्यतयः ब्याजदर बढ्दा सेयर बजार घट्ने अनि ब्याजदर घट्दा सेयर बढ्ने गर्छ ।

राष्ट्रिय वाणिज्य बैंकको बेस रेट सबैभन्दा थोरै

एक वर्षको अवधिमा सबै बैंकको आधार दर घटेको छ । सबैभन्दा कम आधार दर राष्ट्रिय वणिज्य बैंकको रहेको छ । यस बैंकको आधार दर ०.३९ प्रतिशत ले घटेर ५.४१ प्रतिशत मा आएको छ ।

जसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्ट्यान्र्ड चाटर्ड, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल र एभरेष्ट बैंकको आधार दर पनि ६५ भन्दा कम छ ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै आधारदर घट्नेमा सनराइज बैंक रहेको छ । यसको आधार दर २.२५ प्रतिशत ले घटेर ६.७० प्रतिशत मा आएको छ । सबैभन्दा धेरै आधार दर कुमारी बैंकको रहेको छ । यसको आधार दर २.१८ प्रतिशत ले घटेर ७.९० प्रतिशत रहेको छ ।