बैंकको ब्याजदर वृद्धिले शेयर बजारमा असर
काठमाडौं । गत साताको अन्तिम कारोवार दिन विहिवार नेप्से परिसुचक ७६ अंकले घट्यो । बैंकहरुले निक्षेप र कर्जाको व्याजदर बढाउन थालेपछि त्यसको नकारात्मक असर सेयर बजार परेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर धितोमा १२ करोडको कर्जा सीमा तोकेपछि बजार अस्थिर बनेको थियो । त्यसमाथि असोज १ गते बैंकहरले निक्षेप र कर्जामा ब्याजदर बृद्धिले यसलाई अर्को असर पारेको छ ।
विभिन्न बहानामा नेप्से कहिले बढ्ने र कहिले घट्ने गर्दा लगानीकर्ता अन्योलमा परेका छन् ।लगानीकर्ता र शेयर विश्लेषकहरू भन्छन– नेप्से धेरै तल झर्छ र नेप्सेको घट्ने–बढ्ने क्रम जारी रहने छ ।
अहिलेको अवस्थामा नेप्सेको अवस्थामा निकै उतारचढाब हुने देखिन्छ। बैंकमा तरलता हुन शुरु भएसँगै नेप्सेमा त्यसको असर पर्ने गर्थ्यो ।
तर, अहिले त्यसो भएको छैन । बैंकमा तरलता टाइट भए पनि नेप्सेमा त्यसको असर देखिएको छैन । यसको अर्थ बैंकबाट ऋण लिएर मात्र नेप्सेमा लगानी भएको छैन।
विश्वका सबै स्टक एक्सचेन्ज बजारमा सरकारले ल्याउने नीति र लगानीकर्ताको मनोभावले ठूलो असर पारिरहेको हुन्छ । गत वर्ष शेयर बढ्नमा धेरै कुरा एकैपटक भए । कोभिड–१९ का कारण अन्य उद्योगधन्दामा लगानी भएन । मानिस सबै घरमा थुनिए र डिजिटल माध्यमबाट शेयर किनबेच शुरु भयो । यसले बैंक वित्तीय संस्थालगायत साधारण व्यक्ति पनि शेयर बजारमा प्रवेश गरे ।
त्यसै समय बैंक तथा वित्तीय संस्थामा तरलता फालाफाल भयो र शेयर धितोमा धमाधम कुनै सीमा बेगर ऋण प्रवाह भयो । लगानीकर्ताले करोडौं रुपैयाँ ऋण लिएर लगानी गरे र राष्ट्र बैंकले पनि शेयरहोल्डरभन्दा पनि बैंकलाई बचाउन चाहयो ।
जसका कारण बैंकले सहजै शेयर खरिदका लागि ऋण प्रवाह गरे । यसले शेयरबजारमा हरियाली छायो ।
तर, अब फेरी व्यापार(व्यवसाय तथा समग्र अर्थतन्त्र सहजरुपमा चलायमान भएकाले राष्ट्र बैंकले पुनः नीतिमा परिवर्तन गरेको छ, जुन आवश्यक पनि थियो । यसले शेयर बजारलाई प्रभावित पारेकै हो । तर, पनि अहिले बजार के हुन्छ भन्ने अवस्था छैन ।
अहिले अनलाइनमार्फत विभिन्न देशमा रहेका नेपालीले ऋण नलिइकन आफ्नै पैसाले कारोबार गरेका छन् । ब्याजदर बढ्नाले ठूला लगानीकर्तालाई केही अफ्ठयारो पारे पनि स्वआर्जनमा लगानी गर्नेलाई खासै फरक पारेको छैन । यसैले बजारमा डिमान्ड बढ्ने देखिन्छ ।
राष्ट्र बैंकको निर्णयको प्रभावस्वरुप कर्जाको ब्याजदर बढेको छ । कतिपय बैंकले ब्याज दर दोहोरो अंकमा पुर्याएका छन् । गत वर्ष बैंकहरुले ब्याजदर बढाएका थिएनन् ।
गत वर्ष कोभिड–१९ का कारण अर्थतन्त्र ठप्प भएपछि लगानीको वातावरण भएन र बैंकमा तरलता बढी भएको थियो । सोही तरलतालाई बैंक तथा वित्तीय संस्थाले शेयरमा लगानी गरेका थिए । सो समयमा दुई सय अर्बभन्दा बढी लगानी योग्य रकम बैंकहरुसँग थियो ।
तरलता बढ्दा ब्याजदर कम हुने भएकाले शेयर बजारमा पनि लगानी बढ्छ । ब्याजदर कम भएको समयमा नयाँ किर्तिमानका साथ नेप्से बढ्ने गरेको विगत तथा वर्तमानको रेकर्डले देखाएको छ ।
२०७३ सालमा पनि गत वर्षको जस्तै बैंकको ब्याजदर एकल अंकमा झरेको थियो । त्यसबेला नेप्से परिसूचक १८८१ अंकसम्म उक्लिएको थियो ।
बैंकहरुले ब्याजदर बढाए पनि अहिले नै नेप्सेमा वियरिस ट्रेन्ड भने आइनसकेको छ। अहिले राष्ट्र बैंकको नीति र ब्याजदरले केही बजार घटेको भए पनि बजारले पुनः नयाँ उचाइ समात्नेमा लगानीकर्ताहरू आशाबादी रहेका छन ।
राष्ट्र बैंक र लागनीकर्ताको घनचक्कर
केही समय अघिमात्र नेप्सेले ऐतिहासिक रेकर्ड कायम गर्दैगर्दा राष्ट्र बैंकले सेयर कर्जामा १२ करोडको सिमानिर्धारण गर्यो । यो नीतिले केही ठूला लगानीकर्तालाई अफ्ठरोमा समेत पारेको छ । धेरै दिनदेखि लगानीकर्ता राष्ट्र बैंकको नीतिका विरुद्ध आन्दोलनमा छन् ।
खर्बौंको लगानी रहेको नेप्सेमा राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय उदासिन रहेको भन्दै अघिल्लो विहीबारबाट लगानीकर्ता आमरण अनसनमा समेत बसेका छन् । यता राष्ट्र बैंकले नीति परिवर्तन नगर्ने स्पष्ट पारिसकेको छ । ठूला लगानीकर्ता र राष्ट्र बैंकको लडाईंको असर साना लगानीकर्तामा समेत परेको छ ।
नेपालमा शेयर बजार हेर्ने नियामक निकाय कमजोर छ । नियामक निकायमा भएका मानिस पनि कमाउने धन्दामा लिप्त छन। उनीहरूले शेयर खरिद यसको उदाहरण हो।
नियमन गर्नुको सट्टा उल्टै विभिन्न काण्डमा मुछिएका छन्, सबैलाई आज लगानी गरेपछि भोली कमाइहालौं भन्ने छ। यस्तो अवस्थामा केही ठूला कहलिएका लगानीकर्ताले बजारमा खेल्ने मौका पाएका छन् र रातारात कुन कम्पनीको शेयर मूल्य कति पुर्याउने हो तय गर्ने गर्छन् ।
मुठ्ठीभर मानिसले नेप्सेलाई जता पनि डोहोर्याउने गरेको देखिन्छ । नेप्से जस्तो सेन्सेटिभ बजारलाई राम्रो प्रणालीमा अघि बढाउन जरुरी भएको छ।
वि.सं.२०७८ असोज ४ ०९:४६




















