back
prabhu insurance
himalayanlife

दशैंका सामानका सयौं कन्टेनर चिनियाँ सीमा नाकामा

काठमाडौं । नेपाल सरकारको उदासीनताका कारण यस वर्षको दशैं, तिहार र छठपर्वमा स्थानीय बजारमा लत्ताकपडा लगायत सामान महँगिने भएका छन् ।

चाडपर्वका लागि चीनको ग्वान्चाउ लगायत क्षेत्रबाट खरिद गरिएको सामान बोकेका सयौं कन्टेनर दुई सातादेखि तिव्वतको सिगात्से, न्यालम,खासामा थुप्रिएका छन् ।

ल्हासा पार गरेका करिब १ हजार १ सय कन्टेनर चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न पार्किङ क्षेत्रमा रोकिएका छन् । नेपालतर्फको भन्सार नाका सुनसान छ ।

पारि सामान बोकेका कन्टेनरलाई चीनले नेपाल प्रवेश गर्न दिएको छैन। झिकाएका अर्बौंको सामान बोकेका कन्टेनरले पालो पर्खिएर बसिरहेका छन् । तर, चिनियाँ अधिकारीहरूले खटाइखटाई कन्टेनर पठाउने गरेको र नेपाली आयातकर्ताले दशैंका लागि मगाएको मालसामान दशैंमा बेच्न पाउने सम्भावना टर्दै गएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताएका छन् ।

अध्यक्ष श्रेष्ठले भने–‘११ सयभन्दा बढी कन्टेनर खासा, न्यालम, सिगात्से क्षेत्रमा रोकिएका छन् ’ । गत बिहीवार तिब्बतको वाणिज्य, भन्सार, बन्दरगाह र विदेश मामिला कार्यालयका अधिकारीहरूसँगको संयुक्त बैठकमा तातोपानी नाकाबाट दैनिक २० ओटा कन्टेनर नेपाल प्रवेश गर्न दिने सम्झौता भए पनि बढीमा ८ कन्टेनर सामान मात्र आयात हुने गरेको तातोपानी भन्सार प्रमुख नारद गौतमले बताएका छन्।

उनले भने–‘तिब्बतको ल्हासाका लागि नेपालका महावाणिज्यदूत नवराज ढकालसँगको बैठकमा तिब्बतका अधिकारीहरूले दैनिक २० वटा कन्टेनर सामान पठाउन सहमति गरे पनि त्यो अनुपातमा भित्रिएका छैनन्,अहिले दैनिक ८र९ कन्टेनर सामान आइरहेको छ, त्यो पनि १ वर्ष अगाडि मगाएको सामानमात्र हो ।’

अहिलेसम्म दशैं र तिहारलक्षित सामान नआएको भन्सार प्रमुख गौतमले बताए । ‘कृषि, स्वास्थ्यका सामग्रीमात्रै भित्रिएका छन्, अन्य सामाग्री बोकेका कन्टेनर आउन सकेका छैनन’ उनले भने ।