नबिल र एभरेष्ट बैंकले सरप्राइज लाभांश घोषणा गर्ने

काठमाडौं । सेयर बजारको ब्लुचिप स्क्रिप्ट मध्येको एक नबिल बैंक लिमिटेड र विदेशी लगानी समेत रहेको एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ‘सरप्राइज लाभांश’ घोषणाको पूर्व तयारी गरिरहेको छ ।
यी दुवै बैंकले राम्रो लाभांश घोषणा गर्ने योजनाका साथ आवश्यक प्रक्रियाहरुलाई तीव्र गतिमा अगाडि बढाएका छन् । दुवै बैंकको गत आर्थिक वर्षको ब्यालेन्ससिट अप्रूभलका लागि नियामक नेपाल राष्ट्र बैंक पुगेको छ ।
अहिले राष्ट्र बैंकमा धेरै बैंक तथा वित्तीय संस्थाको ब्यालेन्ससिट अप्रूभलका लागि गएकोले क्यूमा बस्नुपर्ने बाध्यता रहेको एभरेष्ट बैंक लि। स्रोतले बतायो।
आज एभरेष्ट बैंकलाई राष्ट्र बैंकले ब्यालेन्ससिटकै विषयमा छलफल गर्न बालुवाटार बोलाएको छ । त्यहाँबाट अप्रूभल आउने बित्तिकै हाम्रो संचालक समिति बसेर लाभांश घोषणा गर्ने तयारी छ ।
तिहारअघि नै लाभांश घोषणा गर्ने र मंसिर दोश्रो सातासम्म वार्षिक साधारणसभा गर्ने एभरेष्ट बैंकको योजना रहेको छ । एभरेष्ट बैंकको ब्यालेन्ससिटमा खासै ठूलो इस्यू छैन । चाँडै अप्रूभल आए यही सातामै पनि लाभांश घोषणा हुनसक्छ ।
उता नबिल बैंकका नवनियुक्त महाप्रबन्धक मनोज ज्ञवालीले ब्यालेन्ससिट अप्रूभलका लागि नेपाल राष्ट्र बैंक पठाइएको र सो विषय प्रारम्भिक छलफलकै चरणमा रहेको जानकारी दिएका छन । नबिल बैंकले पनि तिहारअघि नै लाभांश घोषणा गरिसक्ने छ ।
कति आउला लाभांश ?
दुवै बैंकका उच्च अधिकारी र राष्ट्र बैंकस्थित उच्च स्रोतहरुको कुरालाई समेत आधार मान्दा नबिल र एभरेष्ट बैंकले सेयरधनीका लागि ‘सरप्राइज लाभांश’ घोषणा गर्नसक्ने संभावना देखिन्छ ।
अवस्था हेर्दा नबिल बैंकले यो पटक पनि ३० देखि ३५ प्रतिशतसम्म लाभांश घोषणा गर्नसक्ने देखिन्छ । ब्यालेन्ससिट अध्ययन गरिरहेका राष्ट्र बैंकका एक अधिकारीले ३५ प्रतिशतसम्मको क्षमता देखियो भने ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश ल्याउन सक्ने संकेत गरेका छन ।
ती अधिकारीका अनुसार एभरेष्ट बैंकले पनि यो पटक २० प्रतिशतभन्दा बढी नै लाभांश घोषणा गर्नसक्छ । बैंकको आशय तथा ब्यालेन्ससिट पनि त्यस्तै देखिएको छ। एभरेष्ट बैंकको बढीमा २५ प्रतिशतसम्म लाभांश आउनसक्ने बताइएको छ ।
वि.सं.२०७८ कात्तिक २ १४:५४