back
stc
prabhu insurance

कुन बैंकको कति सिडि रेसियो ?

काठमाडौं । बैंकहरुको आक्रमक कर्जा विस्तार रोक्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) हटाएर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मात्र कायम गर्यो ।

जसको प्रभाव तत्कालै बैंकिङ प्रणालीमा देखियो पनि । तर निक्षेपको तुलनामा बैंकहरूले कर्जा प्रवाह उच्च गति गर्दै गएपछि राष्ट्र बैंकको उक्त व्यवस्थाले बैंकहरुलाई थप कर्जा दिनै नसक्ने अवस्थामा पुर्यायो ।

सीसीडीमा गणना हुँदै आएको ४ खर्ब रुपैयाँ हाराहारीको रकम सीडीमा गणना गर्न नमिल्ने भएपछि बैंकहरुलाई समस्या परेका छन र आगामी मंसीरमा गर्ने मौद्रिक नीति मार्फत यो व्यवस्थामा थप लचकता अपनाउन माग गर्न थालेका छन ।

राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमै बैंकहरुको औषत सीडी रेसियो ८८.७४ प्रतिशत पुगेको छ । ०७८ असार मसान्तसम्म यस्तो रेसियो ७७.०६ प्रतिशत रहेको थियो । तीन महिनाको अवधिमा बैंकहरुको सीडी रेसियो ११.०८ प्रतिशत बिन्दुले बढेको देखिन्छ ।

सीडी रेसियो तोकिएको सीमाभन्दा बढी भएका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा ८ वटा बैंक ठुलो कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको पाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो ९५.३७ प्रतिशत पुगेको छ । यस्तै नेपाल एसबीआई बैंकको ९५.०८ प्रतिशत, हिमालयन बैंकको ९३.५४ प्रतिशत, कु्मारी बैंकको ९२.१३ प्रतिशत, एनएमबि बैंकको ९१.२७ प्रतिशत, मेगा बैंक नेपालको ९१.२१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ९०.२५ प्रतिशत, बैंक अफ काठमाण्डूको ९०.४८ प्रतिशत पुगेको छ । यी बैंक कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

बाँकी १९ वटा बैंकको सीडी रेसियो भने ९० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ । बैंकहरूले चालू आर्थिक वर्षको त्रैमासमा जारी वित्तीय विवरण अनुसार कृषि विकास बैंकको ८८.९९, सेञ्चुरी कमर्सियल बैंकको ८८.७०, सिटिजन्स बैंक इन्टरनेशनलको ८७.३९, सिभिल बैंकको ८७.९४, एभरेष्ट बैंकको ८६.३९, ग्लोबल आइएमई बैंकको ८९.१४, लक्ष्मी बैंकको ८८.९४, माछापुच्छ्रे बैंकको ८८.१०, नबिल बैंकको ८८.६४, नेपाल बंगलादेश बैंकको ८७.३८, नेपाल बैंकको ८६.२३ प्रतिशत पुगेको देखिन्छ ।

यस्तै एनसीसी बैंकको ८९.९६, एनआईसी एसिया बैंकको ८५.३२, प्रभु बैंकको ८२.६४, राष्ट्रिय वाणिज्य बैंकको ८५.११, सानिमा बैंकको ८५.२५, सिद्धार्थ बैंकको ८७.७५, स्टयान्डर्ड चार्टर्ड बैंकको ८८.०६ र सनराइज बैंकको सिडी रेसियो ८४.६५ प्रतिशत पुगेको देखिएको छ ।