back
stc
prabhu insurance

एनबीएले सीडी रेसियोमा लचकता अपनाउन दियो सुझाव

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो, लिक्विडिटी रेसियो र सीआरआर लगायतका विषयमा लचकता अपनाउने नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको जनाएको छ।

संघका नवनियुक्त अध्यक्ष तथा कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्याय सहितका पदाधिकारी र गभर्नर महाप्रसाद अधिकारीबीच भेटमा संघले विभिन्न आठबुँदे सुझाव पेस गरेको छ।

सुझावमा ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सूत्ररविधि पुनरावलोकन गर्न पनि संघले सुझाव दिएको जनाएको छ। निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउन पनि सुझाव दिएको छ।

यसैगरी एसएमई बोन्ड लगायत कन्भर्टेबल डिबेन्चर, पिर्पेचुअल डिबेन्चर आदिजस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्न, पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्न, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्न पनि संघले सुझाव दिएको जनाएको छ।

यसैगरि डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न फिनटेक कम्पनीलाई सहायक कम्पनीका रुपमा स्थापनाका लागि उचित नीतिगत व्यवस्था गर्न पनि संघले सुझाव दिएको जनाएको छ।

बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ प्रवर्द्धन कार्य गर्नका लागि आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समावेश गराउन पाउने व्यवस्था गर्न पनि सुझाव दिइएको एनबीएले जनाएको छ ।

गभर्नर अधिकारीले प्रथम त्रैमासिक समीक्षाका लागि संघबाट पेस गरिएका सुझावहरु माथि आन्तरिक छलफल गरी उचित सुझावहरु कार्यान्वयन गरिने आश्वासन समेत दिएका छन। उनले नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति/निर्देशनहरु सरोकारवालाहरुसँग छलफल गरी ल्याउने आश्वासन पनि दिएका छन।

गभर्नर अधिकारीले कर्जा प्रवाहमा संयमित हुन बैंकरहरुलाई आग्रह पनि गरेका छन। पछिल्लो समयमा भएको उच्च कर्जा वृद्धितर्फ संकेत गर्दै गभर्नर अधिकारीले बैंकहरुलाई संयमित हुन आग्रह गरेका हुन्। गभर्नर अधिकारीले नवनिर्वाचित अध्यक्ष उपाध्याय लगायत सम्पूर्ण पदाधिकारीहरुलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना पनि सो अवसरमा व्यक्त गरेका थिए।

कार्यक्रममा एनबीएका अध्यक्ष उपाध्यायले राष्ट्र बैंकले प्रदान गरेको मार्गदर्शन आगामी दिनमा समेत पाउने अपेक्षा राख्दै संघका तर्फबाट वित्तीय सुशासन, सबलीकरण र अभिवृद्धिमा आफ्नोतर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

यसका साथै भर्खरैमात्र सम्पन्न ४२ औं सार्क फाइनान्स गभर्नर्स ग्रुप मिटिङले गभर्नर अधिकारीलाई सार्क फाइनान्सको अध्यक्ष चयन गरेकोमा उपाध्यायले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

गभर्नरको कार्यकालमा सार्क फाइनान्स गभर्नर्सबीच बीच आर्थिक तथा वित्तीय क्षेत्रका साझा विषयहरुमा अपसी सहकार्य र समझदारी हुने अपेक्षा उनले व्यक्त गरेका छन।

कार्यक्रममा डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु लगायत राष्ट्र बैंकका उच्च पदाधिकारीहरु तथा संघका तर्फबाट नयाँ कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। – नरोत्तम सुबेदीबाट