back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैंकले २ अर्ब ५ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब पाँच लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा लगानी गर्न लागिएको हो ।

रकम लगानीको अवधि २०७९ जेठ तीन गतेदेखि विसं २०८० जेठ दुई गतेसम्म रहेको छ । राष्ट्र बैंकका अनुसार यसरी मुद्धती निक्षेपको रुपमा लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ६० करोड पाँच लाख, विकास बैंकहरुको लागि ३० करोड र फाइनान्स कम्पनीहरुको लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही वैशाख २० गते अपरान्ह तीन बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएका छन् ।

यस बाहेक कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आ।व।मा सञ्चालन मुनाफामा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको हुनुपर्ने लगायतका शर्तहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।