back
stc
prabhu insurance

नबिल र एनबी बैंकको कर्मचारी विवाद मिल्यो

काठमाडौं । नबिल बैंक लि. र एन.बी. बैंक लि. को टुंगिन लागेको मर्जर प्रक्रियामा आएको खटपटलाई शीघ्र प्रयासबाट दुबै बैंकका उच्च अधिकारीहरुले समयमै व्यवस्थापन गरेका छन् ।

एनबी बैंकका कर्मचारीलाई मर्जरपछि बन्ने बैंकमा जाँदा घटुवा गरी लैजाने पुरानो सहमतिलाई राष्ट्र बैंकले अस्वीकार गरी नयाँ सहमति कायम गराएपछि त्यो कार्यान्वयन हुन नदिन चलखेल भएको थियो ।

नबिल बैंकको कर्मचारी संघले एक विज्ञप्ति जारी गर्दै एन.बी. बैंकका कर्मचारी नबिल बैंकमा आउँदा साबिक कै पद कायम हुनै नसक्ने र त्यसो गर्दा नबिलका कर्मचारीहरुको क्षमताको बेवास्ता गरेको ठानिने भन्दै चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो ।

संघले निकालेको विज्ञप्तिमा नबिल र एन.बी. बैंकका कर्मचारीहरुको कार्यदक्षता एउटै हुनै नसक्ने जिकिर गर्दै नबिलका कर्मचारीलाई जापानको दक्ष जनशक्ति र एन.बी. का कर्मचारीलाई पाकिस्तानको कम दक्ष जनशक्तिको रुपमा चित्रण गरिएको थियो ।

यो विषयले कर्मचारी–कर्मचारीबीच नै फाटो ल्याउने अवस्था बनेपछि दुबै बैंकका उच्च अधिकारीहरुले बेलैमा हस्तक्षेप गरी सबै पक्षलाई राखी नेपाल राष्ट्र बैंकमा करिब १० दिनअघि नै भइसकेको सहमतिअनुसार नै अगाडि बढ्ने विषयमा नयाँ सहमति कायम बनाएका छन् ।