back
stc
prabhu insurance

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका कर्मचारीको हैसियत हुने सहमति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकका कर्मचारीको हैसियत बराबर हुने सहमति भएको छ । दुई बैंकबीच मर्जरमा जाने सम्झौता भएसँगै बैंकका कर्मचारीको पदीय हैसियत पनि बराबर हुने सहमति भएको हो ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०।९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ ।

स्वाप रेसियो तलमाथि भएपनि दुवै बैंकका कर्मचारीको सेवा सुविधा र पदीय हैसियत भने समान हुने बताइएको छ । मेगा बैंकका सञ्चालक तथा मर्जर समितिका सदस्य गोपाल खनालले दुवै बैंकका कर्मचारीको सेवा सुविधा यसअघिकै हुने र पदीय हैसियत पनि बराबर हुने बताए । दुई बैंकबीच कर्मचारीको समायोजनको विषय खासै समस्या नरहेको उनको भनाइ छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे र सीईओमा ज्योति पाण्डे हुने भएका छन् । त्यस्तै, वरिष्ठ डेपुटी सीईओ रबिना देशराज श्रेष्ठ बन्ने भएकी छिन् ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु ३४.४३ अर्ब रुपैयाँ हुनेछ ।