कर्मचारीको सामूहिक जीवन बीमाका लागी माछापुच्छ्रे बैंकले माग्यो प्रस्ताव
काठमाडौंं । माच्छापुच्छ्रे बैंकले आफ्नो सबै कर्मचारीको सामूहिक जीवन बीमाको लागी ईच्छुक जीवन बीमा कम्पनीसँग प्रस्ताव माग गरेको छ ।
बैंकले बुधबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसका कर्मचारीको सामूहिक जीवन बीमाको लागी प्रस्ताव माग गरेको हो ।
सूचनामा बीमा शुल्क दर तालिका, बीमालेखको सेवा तथा शर्त, फाइदाहरू स्पष्टसँग खुलाउन अनुरोध गरिएको छ । प्रस्ताव पेश गर्नको लागी १५ दिनको अवधि दिइएको छ ।
साथै प्रस्ताव पेश गर्नको लागी ६ हजार रूपैयाँ शुल्क भुक्तानी गरेर आवेदन फारम खरिद गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।
बीमा समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनीले नै आवेदन दिएको अवस्थामा माच्छापुच्छ्रे बैंकले आवेदन शुल्कवापत १ लाख १४ हजार रुपैयाँ असुल्ने छ ।
सामान्यतया प्रक्रयागत खर्च, प्रशासनिक खर्च, विज्ञापन वापतको खर्च असुल्नको लागी आवेदन शुल्क लिने अभ्यास रहेको छ ।
दुख दिने नियतले अवाञ्छित व्यक्ति वा संस्थाले जथाभावी बोलपत्रमा वा प्रस्तावमा सहभागीता नजआओस् भन्ने उद्देश्यले यस्तो शुल्क तोक्ने गरिए पनि बैंक वित्तीय संस्थाले प्रत्येक पत्र बोलपत्र वा प्रस्ताव आह्वान गर्दा शुल्क वापत तुलनात्मकरुपमा महँगो रकम तोकेर मनग्ये रकम असुल्ने गरेको आरोप लाग्दै आएको छ ।
वि.सं.२०७९ असोज १३ २०:४६




















