पुस १४ गते प्रभु बैंकको साधारण सभा
काठमाडौ । पुस १४ गते प्रभु बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको गत मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
साधारण सभा बैंकको केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा छ ।
साथै बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्ने एजेन्डा छ ।
साधारण सभाबाट सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गरेको छ । तसर्थ, मंसिर २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ पुस १३ ०९:५७




















