back
stc
prabhu insurance

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १३ गते अन्तिम दिन हो । नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र एचआइडीसीएलले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्दैछन् । त्यसैले यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट २५ बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश पारित गर्न यसले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

यस बैंकले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांक्वेट, बवरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.३५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्षको नाफाबाट  सेयरधनीहरुलाई  ५ प्रतिशत  बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । एचआइडीसीएलको साधारण सभा पुस २६ गते बस्दैछ । सभा अर्पण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।