हिमालयन बैंकको १९.११% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौ । हिमालयन बैंकको १९.११ प्रतिशत लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन हो । पुस २८ गते वार्षिक साधारण सभा बोलाएको यस बैंकले पुस १८ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, आज आइतबार सम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर तिर्न ११.११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । योसँगै आज आइतबार ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकोछ ।
हिमालयन बैंकको साधारण सभा होटल सोल्टी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा सम्पति तथा दायित्व मूल्यांकनका आधारमा तय भएको १००ः८०.२८ सेयर स्वाप अनुपातमा सिभिल बैंकलाई एक्वायर गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
अर्थात, उक्त स्वाप रेसियोका आधारमा सिभिल बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने छन् ।
यता, एक्विजिसन प्रक्रियामा भएका सम्पूण समझदारी र सम्झौताहरुलाई पनि सभामार्फत अनुमोदन गरिने भएको छ । एक्विजिसन पश्चात हिमालयन बैंककै नामबाट एकीकृत कारोबार गर्न सभाबाट स्वीकृति लिने एजेन्डा पनि रहेको छ ।
वि.सं.२०७९ पुस १७ १०:४५




















