back
stc
prabhu insurance

पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बीच व्यवसायिक सम्झौता

काठमाडौं । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. नयाँबजार काठमाडौं र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेलले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक महानुभावहरुले दन्त परिक्षण निःशुल्क, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत तथा दाँत सम्बन्धी अन्य सेवामा ५ प्रतिशत तथा जनरल अस्पताल, नयाँबजारले सञ्चालन गर्ने सेवाहरुमा परीक्षण निशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्स् रे, ईसिजि र ओ.टीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल, नयाँबजार काठमाण्डौं सन् १९९७ मा स्थापना भई हाल सम्म अनवरत रुपमा संचालित त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त नेपालकै प्रथम डेन्टल कलेज एण्ड हस्पिटल हो, जसले डेन्टल कलेज तथा जनरल अस्पताल सञ्चालन गरी विभिन्न स्वास्थ्य सम्बन्धी सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

सम्झौता कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो भने पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्दले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राख्नुभयो । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।