back
stc
prabhu insurance

११ महिनामा विदेशी मुद्रा सञ्चिति ३ अर्ब डलर भन्दा धेरैले बढ्यो

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति २०८१ जेठ मसान्तमा ३ अर्ब १ करोड अर्थात २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड डलर पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाली रुपैयाँका आधारमा भने २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई गत जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात धान्न पर्याप्त देखिन्छ ।

यस्तै, यसले १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् ।