back
stc
prabhu insurance

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युतमा जुट्यो १५ अर्ब १८ करोड लगानी, कुमारी बैंकले अगुवाई गर्ने

काठमाडौँ । गोरखा, लमजुङ र तनहुँ जिल्लाको सिमाना भएर बग्ने मस्र्याङ्दी नदीमा ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानी सम्झौता सम्पन्न भएको छ। एम.ए. पावर प्रा.लि.ले निर्माण गर्ने उक्त आयोजनामा १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानी हुने भएको छ।

२०७९ माघ १८ गते सम्पन्न सम्झौतामा एम। ए। पावर प्रा।लि।का अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थिति रहेको थियो। सम्झौतामा कुमारी बैंक सहित प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक लगायतका वित्तीय संस्थाहरूले सहभागिता जनाएका छन्।

आयोजनामा स्वपुँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालले गर्नेछन्। डोल्मा इम्प्याक्ट फन्डले कम्पनीमा ४९ प्रतिशतसम्मको स्वपुँजी लगानी गर्न आवश्यक ड्यु डिलिजेन्स अध्ययन अघि बढाएको अध्यक्ष आचार्यले बताए।

यसै समूहले सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको पनि जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणसँग २०८० कार्तिक १ गते सम्पन्न विद्युत् खरिद सम्झौताअनुसार २०८६ वैशाख २२ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश भइसकेको छ।

आयोजनाबाट उत्पादित विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेशनमा जोडिनेछ।

परियोजनाले गण्डकी र बागमती प्रदेशका ऊर्जा आपूर्तिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।