back
prabhu insurance
himalayanlife

माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेबापत दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको हो ।

ग्राहकको खाता खोल्ने प्रक्रियासहित बैंकिङ सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्डले विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा गरेका उत्कृष्ट कार्यलाई सम्मान गर्दै आएको छ । यस वर्ष ५०० भन्दा बढी आवेदनमध्ये माछापुच्छ्रे बैंकलाई उत्कृष्ट ठहर गर्दै प्लेटिनम अवार्ड प्रदान गरिएको हो ।

यसैगरी, बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ विधामा अर्को अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । इन्डियन च्याम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कर्जा, सञ्चालन, बजार तथा तरलता जोखिम व्यवस्थापनमा बैंकले अपनाएको सक्रिय दृष्टिकोण तथा सुरक्षित र जिम्मेवार बैंकिङ अभ्यासका लागि यो सम्मान प्रदान गरिएको बैंकले जनाएको छ ।

पछिल्लो उपलब्धिले डिजिटल रूपान्तरणसँगै प्रभावकारी जोखिम व्यवस्थापनलाई बैंकले प्राथमिकतामा राख्दै आएको देखाएको छ ।

माछापुच्छ्रे बैंकले पछिल्ला वर्षहरूमा विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ । यसअघि बैंकले भिसा लिडरशिप कन्क्लेभ अवार्ड २०२३ र २०२४, इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ र २०२५ तथा राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड २०२५ लगायतका सम्मान प्राप्त गरिसकेको छ ।