back
stc
prabhu insurance

जाउलाखेलमा पहिलो ‘स्कुल मिट एक्सपो–२०२४’ प्रारम्भ

ललितपुर । ललितपुरको जाउलाखेलस्थित फुटबल ग्राउण्डमा पहिलो स्कुुल मिट एक्सपो–२०२४ (स्कुल मेला) प्रारम्भ भएको छ । शनिवार आयोजित एक समारोहकाबीच काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेलाको उद्घाटन गरिन् ।

कार्यक्रममा उपमेयर डंगोलले स्कुल मेलाले अभिभावकहरुलाई स्कुलको विषयमा विभिन्न जानकारी एकै थलोमा उपलब्ध हुने भएकोले समयको वचत समेत गर्ने बताइन् ।

‘यो नेपालको पहिलो स्कुल मेला हो । मेलाले अभिभावकलाई आफ्ना बच्चाका लागि कस्तो स्कुल हुनपर्छ भन्ने धेरै भन्दा धेरै जानकारी दिन्छ’, डंगोलले भनिन् – ‘अहिले ठाउँ–ठाउँमा गएर स्कुलको बारेमा जानकारी लिनु भन्दा एकै ठाउँमा जानकारी दिनु राम्रो हो ।’

डंगोलले स्कुल मेलाको सफलताको काम गर्दै आगामी वर्ष पनि यस्ता मेलाले निरन्तरता पाउनु पर्ने धारणा राखिन् ।

आरए इभेन्ट म्यानेजमेन्टको आयोजना तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको परिकल्पना एवं व्यवस्थापनमा ‘स्कुल मिट एक्सपो–२०२४’ आयोजना भएको हो । यो एक्सपो आज आइतवारसम्म चल्नेछ ।

एक्सपोमा उपत्यकाका विभिन्न स्कुलहरुको सहभागिता रहेकोले विषेश गरेर व्यस्त अभिभावकको समय वचत गर्दै बालबालिकाहरुको लागि उचित स्कुल छान्ने अवसर मिल्ने आयोजक संस्थाका राज फैजुले बताए ।

एक्सपोमा बालबालिकाहरुका लागि गेम जोन, फुटसल लगायतका विभिन्न स्टलसहित फुड कोर्टसमेत राखिएको छ । एक्सपो बालबालिका तथा अभिभावकको क्वालिटी समय सदुपयोगका लागि पनि आयोजना गरिएको आयोजकको भनाई छ ।

एक्सपोका लागि अभिभावक तथा विद्यार्थीहरुको रेस्पोन्स राम्रो रहेकोले यस पटक सहभागी हुन नसकेका स्कुलले समेत अर्को जर्ष सहभागिता जनाउने आजोयकको भनाइ छ ।