back
prabhu insurance
himalayanlife

पाँच जना हास्यव्यङ्ग्यकर्मीहरूलाई पुरस्कार प्रदान गरिने

काठमाडौं । नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कारहरू २०८१ का लागि पाँच जना हास्यव्यङ्ग्यकर्मीहरूलाई समर्पण गरिने भएको छ ।

फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८१’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखन तथा यसको उन्नयनमा क्रियाशील व्यक्तित्व मकवानपुर जिल्ला हेटौंडाका आर.सी. रिजाललाई नगद रु।.२०,१०१– सहित सम्मानपत्र प्रदान गरिने फित्कौली अनलाइन मिडियाले एक विज्ञप्ति प्रकाशित गरी यो जानकारी सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा जनाइए अनुसार सिन्धुलीका हास्यव्यङ्ग्य लेखक महेश थापालाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ भने गोरखाका हास्यव्यङ्य कवि सुभाषचन्द्र देवकोटालाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार–२०८१’ प्रदान गरिने छ ।

त्यसैगरी सिन्धुपाल्चोकका हास्यव्यङ्ग्य निबन्धकार देवीप्रसाद चापागाईलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार( २०८१’, र इलामका कवि दिनानाथ पोख्रेललाई ‘मुकुन्द(मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार( २०८१’ प्रदान गरिने भएको छ । यी पुरस्कारहरूको रकम जनही रु। १५,१०१–र सम्मानपत्र रहेको छ ।

समारोहमा फित्कौली डटकमका सल्लाहकार एवम फित्कौली द्वैमासिकका प्रमुख संरक्षक सदस्य कृष्णमुरारि गौतम (चट्याङ मास्टर ) लाई बुढ्यौली विषय–क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु भएकोमा प्रतिकचिन्ह सहित ‘बुढ्यौली विशेष सम्मान’ समर्पण गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।

यी सम्मान र पुरस्कारले गत वर्ष पाल्पाका चोलेश्वर शर्मा, स्याङ्जाकी गायत्री परिरोशनी, झापाका खगेन्द्र नेउपाने, गुल्मीका काशीनाथ मिश्रित, भक्तपुरका कवि रामशरण न्यौपाने र कार्टुनिस्ट राजेश मानन्धरलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

बुढ्यौली विशेष सम्मान बाहेक अरु सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व छनोट गर्न सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको संयोजकत्वमा हास्यव्यङ्ग्यकार चट्याङ मास्टर र धीरेन्द्र प्रेमर्षि रहनुभएको समिति बनाइएको थियो ।

समितिले सिफारिस गरेका स्रष्टाहरूलाई नै फित्कौली अनलाइन मिडियाले सम्मानित र पुरस्कृत गर्ने निणर्य गरेको हो ।

आगामी भदौ २२ गते शनिबार राजधानी स्थित माउन्टेन एकेडेमी, थापागाउँमा आयोजित ‘फित्कौलीको खित्कौली सभा–३’ कार्यक्रममा उक्त सम्मान र पुरस्कारहरू  समर्पण  गरिने भएको छ । त्यही समारोहमा विभिन्न हास्यव्यङ्ग्य स्रष्टाका ८ वटा हास्यव्यङ्ग्य कृतिहरू एकैसाथ लोकार्पण समेत हुने जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।