असार ३ गते नेसनल माइक्रोफाइनान्सले विशेष साधारण सभा
काठमाडौं । असार ३ गते नेसनल माइक्रोफाइनान्स लघुवित्तले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले समिट लघुवित्तसँग मर्जर सम्बन्धी विशेष प्रस्तावहरु पारित गर्न सभा गर्न लागेको हो ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा संयुक्त मर्जर समितिले सिफारिस गरे बमोजिम १००ः७३ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पेश हुनेछ ।
जसअनुसार नेसनलको १०० कित्ता सेयर बराबर समिटको ७३ कित्ता सेयर अनुपात कायम हुनेछ । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतालगायत अन्य सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाइ अख्तियारी दिने एजेन्डा छ ।
साथै, मर्जर सम्बन्धमा भएका प्रारम्भिक समझदारी पत्र, संयुक्त मर्जर समितिबाट भएका निर्णय तथा खर्चहरु पनि पारित गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
यता, दुई लघुवित्त गाभिएपछि ‘नेसनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि रहेको छ ।
मर्जरपछि अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २१९ रुपैयाँ हुनेगरी प्रबन्धपत्र संशोधन हुनेछ ।
विशेष सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि जेठ २५ गतेदेखि बुक क्लोज हुने भएकाले जेठ २४ गतेसम्म कायम रहने सेयरधनी मात्र भाग लिन सक्नेछन् ।
वि.सं.२०८० जेठ १९ ०९:१५



















