पशुपति विकास कोषमा क्रिश्चियनलाई नियुक्ति दिने षड्यन्त्र

काठमाडौं । आराध्यादेव भगवान श्रीपशुपति क्षेत्र विकास कोषमा रिक्त रहेको उपाध्यक्ष, सदस्य सचिव, कोषाध्यक्ष जस्ता पदाधिकारी र सदस्य पदहरुमा क्रिश्चियन इन्टरफेथ ग्रुपसँग निकट रहेका व्यक्तिहरुलाई नियुक्त गर्न चलखेल भैरहेको छ ।
सो ग्रुप नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अप्रत्यक्ष रूपमा सञ्चालन गर्दै आएका छन् ।
कोषमा पदाधिकारी र सदस्य नियुक्तिमा माधव नेपालले भागबन्डा खोजेका छन्। मन्त्रालयको भागबन्डा नलाग्दै नेता नेपालले उपाध्यक्ष,सदस्य सचिव र कोषाध्यक्षमा नियुक्ति आफ्नो सिफारिस गर्न देउवालाई दवाव दिदै आएका छन्।
कोषका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान माधवले राख्दैआएका छन् । कोषमा रिक्त रहेका विभिन्न पदमा कांग्रेस तथा माओवादी केन्द्रले पनि आफ्ना मान्छे राख्न चाहेका छन् ।
तर, माधवले कोषमा सम्पूर्ण आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान राखेका छन । प्रधानमन्त्री देउवाले माधव आवद्ध इन्टरफेथ ग्रुपको सिफारिसमा छिट्टै कोषमा पदाधिकारी र सदस्य नियुक्त हुनेमा सहमति जनाएका छन्।
इन्टरफेथ ग्रुपले माओवादी केन्द्र र कांग्रेस निकटहरुलाई पनि कोषको पदाधिकारी तथा सदस्य पदमा सिफारिस गर्नेछ ।
इन्टरफेथ ग्रुपसँग आवद्धहरुमध्येबाट माधवकुमार नेपाल र एकनाथ ढकालले कोषमा नियुक्त गरिने सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइ सकेका छन् । मन्त्रीमण्डलले उनीहरुलाई चाँडै नियुक्त गर्ने भएको छ ।
कोषले पशुपतिनाथ मन्दिर तथा त्यससँग सम्बन्धित सम्पूर्ण काम कारवाहीमा निर्णय लिन्छ । पशुपति मन्दिर सञ्चालन, पशुपति क्षेत्रमा हुने जात्रा पर्व, पूजा तथा सम्पूर्ण धार्मिक कामको व्यवस्थापन, परिचालन तथा निर्णय कोषले गर्छ ।
त्यसैगरी पशुपति क्षेत्रको विकास निर्माण गर्ने, पशुपतिनाथको प्रचारप्रसार तथा त्यस क्षेत्रको धार्मिक गरिमा उच्च बनाउने जिम्मेवारी पनि कोषसँग हुन्छ । इन्टरफेथ ग्रुप दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आवद्ध समूह हो ।
यो समूहमा विभिन्न धर्मावलम्बी तथा पार्टीसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् । विभिन्न धर्मका गुरुहरु पनि इन्टरफेथ ग्रुपमा आवद्ध छन् । मूलत यो ग्रुपले युनिफिकेसन चर्चको प्रचार गर्ने, चर्चको संगठन विस्तार गर्ने काममा योगदान गर्दै आएको छ ।
कोरियाको युनिफिकेसन चर्चले नेपालमा परिवार दल नामको पार्टी सञ्चालन गर्दै आएको छ। पार्टीले पहिलो संविधान सभामा समानुपातिकमा एक सिट र दोस्रो संविधान सभामा दुई सिट जितेको थियो । यो पार्टीका अध्यक्ष एकनाथ ढकाल छन् ।
युनिफिकेसन चर्चको अन्तराष्ट्रिय सञ्चालक समितिमा समेत एकनाथ रहेका छन् । नेपालमा युनिफिकेसन चर्चको सम्पूर्ण काम एकनाथले हेर्दै आएका छन् ।
युनिफिकेसन चर्च मार्फत् नै नेपालमा इन्टरफेथ ग्रुप सञ्चालन हुँदै आएको छ । इन्टरफेथ ग्रुपका मुख्य नेतृत्वकर्ता तथा संरक्षकका रुपमा नेकपा९एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहँदै आएका छन् ।
युनिफिकेसन चर्चको विश्वव्यापी संगठन छ । सो संगठनको काममा माधवकुमार नेपालले ३० वटाभन्दा धेरै देशको भ्रमण गरिसकेका छन् । दुई वर्ष अघि युनिफिकेसन चर्चले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम गरेको थियो । सो कार्यक्रममा होली वाइन पिएको भनी माधव नेपालको आलोचना भएको थियो ।
एकनाथ ढकालको नेतृत्व र माधवकुमार नेपालको संरक्षकत्वमा रहेको युनिफिकेसन चर्चले नेपालमा दर्जनौं संस्था चलाउँदै आएको छ । विभिन्न संस्थाका साथै लुज नेटवर्कहरु पनि युनिफिकेसन चर्चले चलाउँदै आएको छ ।
इन्टरफेथ ग्रुप पनि लुज नेटवर्ककका रुपमा सञ्चालन हुँदै आएको छ । यो संस्थामा हिन्दू, मुस्लिम, बौद्ध धर्मका गुरुहरु पनि संलग्न छन् । त्यसरी संलग्न हुनेहरुलाई वर्षेनी दक्षिण कोरिया सहित विभिन्न देश भ्रमण गराइने गरेको छ ।
एकनाथ ढकाल र माधव नेपालको समूहले विभिन्न धर्म बीच समन्वय गराउने नाममा इन्टरफेथ ग्रुप चलाउँदै आएका छन् । बाहय रुपमा धर्म समन्वय र धार्मिक सदभाव भनिए पनि इन्टरफेथ ग्रुपको मुख्य उद्देश्य युनिफिकेशन चर्चको संगठन विस्तार गर्ने रहँदै आएको छ ।
युनिफिकेसन चर्चले परम्परागत र चलनचल्तीका चर्चहरुको शैलीमा धर्म प्रचार गर्ने गरेको छैन । यसले अत्यन्त फरक शैली अपनाउँदै आएको छ ।
यसले विभिन्न देशका मानिसबीच विवाह गराउने भन्दै गरिब र विपन्न युवाहरुलाई लोभ्याउँदै चर्चमा सदस्य बन्न लगाउने गरेको छ । युनिफिकेसन चर्चको नेपाल प्रमुख एकनाथ ढकाल आफैंले पनि चर्च मार्फत् फिलिपिन्सकी महिलासँग विवाह गरेका छन् ।
एकनाथ र उहाँकी पत्नी ब्लेसी ढकाल दुवैजना युनिफिकेसन चर्चको संगठन विस्तारमा संलग्न छन् । एकनाथ विगतमा युनिफिकेसन चर्चले खोलेको परिवार दलको सांसद् बनेर मन्त्री समेत बनि सकेका छन् ।
युनिफिकेसन चर्चले अन्य धर्मको प्रत्यक्ष विरोध नगरी सुक्ष्म रुपमा युनिफिकेसन चर्चको संगठन विस्तार गर्दै आएको छ । यसका लागि विभिन्न धर्मका अगुवाहरुलाई युनिफिकेसन चर्चले हात लिने गरेको छ ।
इन्टरफेथ ग्रुपलाई विभिन्न धर्मका गुरुहरुलाई युनिफिकेसन चर्चको समर्थक बनाउन प्रयोग गरिँदै आएको छ । विश्वभरीकै २ अर्ब हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथसँग सम्वद्ध पशुपति क्षेत्र विकास कोषको पदाधिकारी तथा सदस्यहरु इन्टरफेथ ग्रुपसँग सम्वद्ध तथा त्यो ग्रुपप्रति सहानुभुति राख्नेहरुलाई नियुक्त गर्नु युनिफिकेसन चर्चको ठूलो सफलता हुनेछ ।
यही कारण नवगठित समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोषलाई इन्टरफेथ ग्रुपको नियन्त्रणमा लैजान खोजेका छन् ।
इन्टरफेथ ग्रुपको नियन्त्रणमा पशुपति क्षेत्र विकास कोष जानुको अर्थ चर्चको नियन्त्रणमा पशुपतिनाथलाई लैजानु हो भन्ने प्रष्ट हुन्छ ।
कोषमा क्रिश्चियनलाई नियुक्ति गरेर हिन्दु मठ( मन्दिर ध्वस्त पार्न खोजेका छन्। कोषलाई इन्टरफेथ ग्रुपको नियन्त्रणमा लैजान माधवकुमारले देउवा र प्रचण्डलाई मनाई सकेका छन्। माधवको नवगठित समाजवादी पार्टीमा एकनाथ ढकालको ठूलो मेहेनत र लगानी परेको छ ।
वि.सं.२०७८ भदौ १२ १०:१३