आज कुशेऔँसी घर घरमा कुश भित्र्याईदै

काठमाडौँ । कुशेऔँसीका दिन मङ्गलबार सनातन हिन्दुु धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने कुश घर–डेरामा भित्र्याउँदै छन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर यजमानहरू कहाँ पु(याइएको कुश घर–डेरामा राख्दा परिवारको कल्याण हुन्छ भन्ने मान्यता छ । हिन्दुले कुश, पीपल, शालिग्राम र तुलसीलाई विष्णु भगवान्को प्रतीक मान्छन् ।
गोकर्णे औँसीका नामले पनि चिनिने यो दिन छोराछोरीद्वारा बाबुलाई मन पर्ने पहिरन, भोजन तथा सक्नेले आभूषणसमेत प्रदान गरेर सम्मानसाथ बाबुको मुख हेर्ने प्रचलन छ ।
बाबु नहुनेहरू पवित्र स्थानमा गई बाबुको नाममा श्राद्ध तर्पण तथा ब्राह्मणलाई दान दिने गर्छन् ।
विशेष गरेर उत्तर बाहिनी गोकर्णेश्वरमा पितृ श्राद्ध र दान तर्पण गर्ने गरिन्छ । गोकर्णेश्वर नगरपालिकाले यसरी चाड मनाउन आउनेको व्यवस्थाका लागि आवश्यक तयारी गरिसकेको छ ।
वि.सं.२०७८ भदौ २२ ०७:२०