back
stc
prabhu insurance

साउथ व्लकका सहसचिव नेपालमा

काठमाडौं । नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव आज काठमाडौंमा आइपुगेका छन् ।

नेपाली परराष्ट्र मन्त्री डा.नारायण खड्का, सचिव भरतराज पौडेल ,सहसचिव सेवा लम्साल न्युयोर्क गएका वेला भारतीय विदेश मन्त्रालयका अधिकारी काठमाडौं किन आए ? न्युयोर्कमा नेपालका परराष्ट्र मन्त्री डा. खडकाले भारतीय समकक्षी एस. जयशंकरबीच भेटवार्ता भएको दुई दिनपछि श्रीवास्तव काठमाडौं उत्रिएका छन् ।

भारतीय विदेश मन्त्रालयका पूर्व प्रवक्ता समेत रहेका सहसचिव अनुराग अहिले साउथव्लकमा नेपाल र भुटान मामिला हेर्छन् । नेपाल र भारतका संयुक्त परियोजनाहरुको अध्ययन र अनुगमन समितिको बैठकमा भाग लिन उनी काठमाडौं आइपुगेको बताइएको छ।

काठमाडौंमा रहँदा उनले अर्थ सचिव मधुप्रसाद मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

दुई दिनअघि राष्ट्र संघीय महासभाको साइडलाइनमा नेपाल( भारत दुई मुलुकका विदेश मन्त्रीको भेटवार्तामा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

जयवीरसिंह धामी तुइनबाट महाकालीमा खसेको घटना र हेलिकोप्टर प्रकरणमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको तर जवाफ नआएको पृष्ठभूमिमा श्रीवास्तवको भ्रमण भएको छ ।

साथै नेपालले नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न भारतले अवरोध गरेको पृष्ठभूमिमा अनुरागको भ्रमण भएको छ ।

कांग्रेसका सभापति शेर बहादुर देउवा सत्तामा आएपछि भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र बीजेपीका पूर्व महासचिव राम माधव काठमाडौं आइ सकेका छन् ।

देउवा सरकार बनेपछि नेपाल भ्रमणमा आउने अनुराग श्रीवास्तव भारतीय सरकारका उच्च अधिकारी हुन् ।