back
stc
prabhu insurance

साइकल खरिदमा व्यापक अनियमितता

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयको लेखा शाखामा छापा मारेर १७ हजार भन्दा बढी साइकल खरिदमा भएको अनियमितता सम्बन्धि खाता फाइल कब्जामा लिएको छ।

मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेकोमा मुख्यमन्त्री लालबाबु राउतले त्यसको कडा विरोध गरेका छन् । अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर गएपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले अख्तियारको छापा मार्ने शैली गलत भएको भन्दै त्यसको विरोध गरेका छन् ।

प्रदेश नं २ मा सबैभन्दा बढी चर्चा पाएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।

अख्तियारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत खरिद गरेको साइकलमा अनियमितता देखिएको भन्दै मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो । मुख्यमन्त्री राउतले भने यस अभियानमा कहिँकतै गल्ती वा अनियमितता भएको भए आफू कारवाहीको भागिदार हुन तयार रहेको जवाफ दिएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले भने अख्तियारको कदमप्रति आपत्ति जनाएका छन् । यो प्रदेश सरकार र आफूलाई बद्नाम गर्ने षड्यन्त्र मात्र भएको उनले दाबी गरेका छन् ।

तर, अख्तियारले कार्यालयमा एक्कासी छापा मारेर अफिसका फायल नियन्त्रणमा लिनु आपत्तिजन भएको उनको भनाइ छ । अख्तियारले कार्यालयमा छापा मारेर फायलहरु लिएर गएपछि आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ‘छापा मार्ने शैली ठीक नभएको’ भनेर फोन गरेको सञ्चारकर्मीसँग मुख्यमन्त्री राउतले भनेका छन् ।

मुख्यमन्त्री राउत सरकारले निकै प्रथामिकताका साथ अघि सारेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ । हालसम्म ४१ हजार २ सय ६२ थान साइकल खरिदमा करिव २९ करोड खर्च भएको छ ।

साइकल खरिद प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको छ । महालेखा परीक्षकको कार्यालयले पनि प्रतिवेदनमा यसबारे प्रश्न उठाएको छ । प्रतिवेदन अनुसार प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो ।

प्रधानाध्यापक मार्फत दिइएको साइकल विद्यार्थी समक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको महालेखा परीक्षकको कार्यालयले बताएको छ । यसबारे उजुरी परेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारको बर्दिबासस्थित कार्यालयका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिएका छन् । उनी नेतृत्वको ६ जनाको टोलीले करिव ३ घण्टा लगाएर कागजपत्र नियन्त्रणमा लिएको थियो ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भनेका छन्, ‘यदि यस अभियानमा कहिँकतै अनियमितता भएको भए थप सहयोग र गल्ती देखिएको ठाउँमा कारवाही भोग्न तयार छु । र, कुनै पनि कम्पनीलाई तोकेर त्यहाँ हामी त्यो खरिद गर्न सक्दैनौं। खरिद गरिएका साइकल सार्वजनिक खरिद ऐन अन्तर्गत छ ।

’अनियमितता भयो भनेर समाचार आउनु, अख्तियारको टोली आउनु र तत्काल सबैतिर खबर आउनु षड्यन्त्रपूर्ण भएको उनले बताए । सुशासनको सवालमा आफूहरु गम्भीर रहेको भन्दै मुख्यमन्त्री राउतले भनेका छन्, ‘तपाईहरुले सजिलै फाइल लिएर जान सक्नुहुन्छ ।

यो तरिका भएन ।’यसबारे आफूले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग पनि कुराकानी गरेको र उनले पनि तरिका ठीक भएन भनेर स्वीकार गरेको राउतले बताए ।

प्रदेश २ को सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकल कुन कम्पनीबाट खरिद गरेको उक्त कम्पनी नखुलेको पाइएको छ ।

कम्पनीबाट कति मूल्यमा साइकल खरिद गरेको भन्नेमा अनियमितता देखिएको भन्दै अख्तियारले छापा मारेको छ ।