back
stc
prabhu insurance

चाडपर्व सुरक्षा दरिलो बनाउन आइजीपी क्षेत्रीको निर्देशन

काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व दशैं, तिहार, नेपाल सम्वत र छठपर्वको पुर्वसन्ध्यामा देशभरिका प्रहरी युनिटहरूलाई निर्देशन दिएका छन्।

क्षेत्रीले विजया दशमी, शुभदिपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराधहरु र सवारी दुर्घटना न्यूनिकरणतर्फ कार्यालयका प्रमुखहरुले थप चनाखो भई आ–आफनो जिम्मेवारी उत्कृष्ट ढंगले वहन कडा निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडियो कन्फ्रेन्स मार्फत महानगरीय प्रहरी कार्यालय रानीपोखरी, ७ वटै प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश प्रहरी इकाई कार्यालयहरु, महानगरीय प्रहरी परिसरहरु र जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

क्षेत्रीले चाडपर्वको समयमा जुवातास तथा मादकपदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाई चाडपर्वलाई उत्साह र उमंगका साथ मनाउने वातावरण सिर्जना हुने गरी सुरक्षा नीति तर्जुमा गरी काम गर्नुपर्ने निर्देशन दिएका छन् ।

कानून विरूद्धको कार्य गर्नेलाई यथाशीघ्र कानूनको दायरामा ल्याउन समेत उनले निर्देशन दिएका छन्। यसैगरि सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामुहिक रूपमा जनचेतनामूलक कार्यहरू संचालन गर्नुको साथै प्रहरी हेल्प डेस्क समेतलाई क्रियाशील गराई आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।

हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सिमा नाकामा हुने विभिन्न चोरी, तस्करी तथा लुटपाट जस्ता घटनाहरूमा सिमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर भएर लाग्न निर्देशन पनि दिएका छन् ।

समाजमा शान्ति सुरक्षा प्रत्याभूत गर्न सबै सुरक्षा निकायहरू बिच संयुक्त रुपमा समन्वय र समझदारी हुनुपर्ने कुरामा जोड दिदै उनले ऐन कानुनको परिधिभित्र रही मानव अधिकारको सम्मान गरी आ(आफ्नो काम कारवाही अगाडि बढाउनुपर्ने निर्देशन दिएको नेपाल प्रहरीले जनाएको छ।