आयल निगम ऐतिहासिक घाटामा
काठमाडौं । पेट्रोलियम पदार्थको एकाधिकारप्राप्त नेपाल आयल निगम लिमिटेड इतिहासकै ठूलो घाटाको दलदलमा फसेको छ । तत्काल मूल्य समायोजन हुन नसके निकट भविष्यमै पेट्रोलियमको आपूर्ति प्रभावित बन्नसक्ने निगमका अधिकारीहरूले बताएका छन् ।
कयौंपटक पेट्रोलियमको मूल्यवृद्धि गर्दा पनि निगमको घाटा चुलिँदै गएर उच्च विन्दूमा पुगेको छ। अहिलेको मूल्य अनुसार निगमलाई मासिक ४ अर्ब ४४ करोड घाटा छ, जुन अहिलेसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार मूल्य घटबढ गर्ने गरी स्वचालित प्रणालीमा गएको भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । पछिल्लो पटक गत असोज ७ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।
त्यसयता चाडबाडले गर्दा मूल्य समायोजन गर्न नसकेको निगम स्रोत बताउँछ । अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्न नसक्दा नै निगमले ठूल्लो घाटा व्यहोर्नु परेको बताइएको छ । निगमका अनुसार अक्टोबर महिनाको सुरुमा इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्य अनुसार निगमको घाटा १५ दिनमा २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
यही मूल्य कायम रहेमा मासिक नोक्सानी ४ अर्ब ४४ करोड हुनेछ । पछिल्ला महिनामा विश्व बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले अब पनि बढेर नै आउने निगमको अनुमान छ ।
हाल पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल प्रतिलिटर ११३ रुपैयाँ, ग्यास प्रतिसिलिन्डर १ हजार ४५० रुपैयाँ मूल्य छ । छिमेकी देश भारतमा भन्दा नेपालमा पेट्रोल ४० रुपैयाँ र डिजेल ४२ रुपैयाँ प्रति लिटर सस्तो पर्छ । भारतले अन्तर्राष्ट्रिय मूल्यनुसार समायोजन गर्ने र प्रदेश सरकारले समेत कर लिने गरेकाले नेपालमा भन्दा महंगो भएको हो ।
नेपालमा मूल्य समायोजन नगर्न राजनीतिक दबाब पर्ने गरेको छ । आईओसीले पठाएको पछिल्लो नयाँ मूल्य चाडपर्वको बेला भनेर समायोजन भएन ।
अरु बेला पनि सरकारको लोकप्रियतामा असर पर्ने भनेर मूल्य समायोजनामा हस्तक्षेप गर्ने प्रचलन छ । विद्यार्थी संगठनहरूले गर्ने सडक आन्दोलनले पनि मूल्यवृद्धि प्रभावित हुन्छ ।
नेपालमा मूल्य समायोजन नगर्न राजनीतिक दबाब पर्ने गरेको छ । आईओसीले पठाएको पछिल्लो नयाँ मूल्य चाडपर्वको बेला भनेर समायोजन भएन ।
अरु बेला पनि सरकारको लोकप्रियतामा असर पर्ने भनेर मूल्य समायोजनामा हस्तक्षेप गर्ने प्रचलन छ । विद्यार्थी संगठनहरूले गर्ने सडक आन्दोलनले पनि मूल्यवृद्धि प्रभावित हुन्छ । निगम अहिले इतिहासकै ठूलो मासिक घाटामा रहेको छ ।
निगमलाई अहिलेको मूल्यअनुसार मासिक ४ अर्ब ४४ करोड घाटा हुने अवस्था आएको छ । अब बेलैमा विचार गरिएन भने निगम २०७० सालभन्दा अगाडिकै अवस्थामा फर्किने छ ।
२०७० सालभन्दा पहिले निगमसँग आर्थिक संकटमा परेर नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ऋण लिएको थियो । निगमले मासिक १५ देखि १७ अर्बको पेट्रोलियम पदार्थ आइओसीसँग किन्ने गरेको छ ।
१७ अर्बको कारोबारमा प्रतिमहिना ४ अर्ब ४४ करोड घाटा हुँदै जाने हो भने पेट्रोलियम पदार्थ किन्न पैसा नभएर आपूर्ति व्यवस्थामा समेत समस्या आउन सक्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएकाले नै नेपाल आयल निगमको घाटा चुलिएको हो । भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएकाले पनि सीमामा भएका पम्पहरुमा भारतीयहरु डिजेल र पेट्रोल हाल्न नेपालमा आउने गरेका छन् ।
निगमले घाटा खाएर बिक्री गरिरहेको पेट्रोलियम पदार्थबाट सीमाका केही गाडीहरुले समेत फाइदा लिरहेको छ।
पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर ४ रुपैयाँ ५६ पैसा र एलपी ग्यास प्रति सिलिण्डर ५११ रुपैयाँ ८८ पैसा घाटा छ ।
मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ । निगम केही वर्षअघि ३६ अर्ब ऋणमा थियो । विस्तारै त्यो ऋण तिर्दै निगम नाफामा गएको थियो । तर, अहिलेको अवस्थाले पहिलेकै अवस्थामा पुग्ने भएको छ ।
वि.सं.२०७८ कात्तिक ३ १७:१८




















