सिबोनको अध्यक्ष चयनको तयारी !
काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहीन बनेसँगै अध्यक्ष पदका लागि दौड सुरु भइसकेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अहिले नियमक निकाय धितोपत्र बोर्डको प्रमुख बनाइ दिन आग्रह गर्दै आउने, मन्त्री, सचिव सहित अर्थ मन्त्रालयका उच्च अधिकारीहरुलाई फोन गराउने र विभिन्न च्यानल मार्फत भेटघाट गर्नेक्रम सुरु भएको छ ।
धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति अर्थ मन्त्रालयले गर्छ । बोर्डको अध्यक्ष छनोटका लागि अर्थ मन्त्रालयले समिति गठन गर्ने कानुनी व्यवस्था रहेको छ । उक्त समितिले अध्यक्षका लागि उपयुक्त व्यक्तिको छनोट गरेपछि अर्थ मन्त्रीले मन्त्रिपरिषद उक्त प्रस्ताव लैजाने र मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।
तथापि धितोपत्र बोर्ड अध्यक्षका लागि केही कानुनी कुरा मिल्नुपर्ने भएकाले अहिले नै आवेदन माग गर्न नमिल्ने अवस्था रहेको छ ।
धितोपत्र बोर्डका अध्यक्षको प्रारम्भिक चरणको छानबिन चलिरहेकाले अहिले नै आकांक्षीहरुको नाम सार्वजनिक गर्ने नमिल्ने अर्थ मन्त्रालय सम्बद्ध अधिकारी भनाई रहेको छ ।
तर नेपाल धितोपत्र बोर्डका अध्यक्ष अदालत गएकोमा उनको मुद्दाको छिनोफानो नहुँदासम्म प्रक्रिया अघि बढाउन सरकारलाई केही गाह्रो भएको जस्तो देखिन्छ । तर नेप्से प्रमुखका लागि प्रक्रिया अघि बढाउन भने कुनै पनि कानुनी समस्या रहेको छैन । यसआधारमा नेप्से नेतृत्व चयन हुन सक्ने सम्भावना रहेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले पारिवारिक सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि धितोपत्र बजार सञ्चालक र नियामक दुवै नेतृत्वविहीन बनेको छ ।
वि.सं.२०७८ कात्तिक ५ ०६:०३




















