back
stc
prabhu insurance

पेट्रोलियम पदार्थको मूल्य घटाउन विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । विभिन्न ७ वटा विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर, नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही र नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले कार्तिक १३ गते एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आम–नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन्।

‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरूमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ। बहुसङ्ख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन ।’

छ विधार्थी संगठनहरूको विज्ञप्ति र शालीन आग्रहलाई बेवास्ता गरिए कडा सङ्घर्षमा उत्रन बाध्य हुने उनीहरूले सरकार र आयल निगमलाई चेतावनी दिएका छन्। यसैगरि नेकपा (एमाले) निकट अनेरास्ववियुकि अध्यक्ष सुनिता बरालले पनि छुट्टै एक विज्ञप्ती प्रकाशित गरि पेट्रोलियम पदार्थको मूल्य बृद्विको विरोध गर्दै मूल्य बृद्वि फिर्ता लिन आग्रह गरेकी छिन।

उता अन्तर्राष्ट्रिय बजारमा कोरोना र अन्य विविध कारणले तेलको उत्पादन कम भएकाले युरोप,भारत सबैतिर उर्जा संकट आएको छ। विश्व बजारमै मूल्य बृद्वि भएको छ। यो अवस्थामा आयल निगमले घाटा सहेर थोरै थोरै मूल्य बृद्वि गरेको दाबी गर्दै आएको छ। यो मूल्य बृद्वि अझै बढने संकेत देखिएको छ।