back
stc
prabhu insurance

प्रेस काउन्सिल नेपाललाई बलियो बनाउन सरोकारवालाको सुझाव

काठमाडौँ । अनलाइन र युट्युवका नाममा बढ्दो बेथिति रोक्न प्रेस काउन्सिल नेपाललाई थप बलियो बनाउनुपर्ने सुझाव विज्ञहरूले राखेका छन् । छापा, रेडियो, टिभी हुँदै युट्युबसम्म आइपुग्दा मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने राय उनीहरूको छ ।

‘काउन्सिलमा काम गर्ने जनशक्ति अपुग छ, श्रोतको अभाव छ भने त्यो राज्यले हेर्ने विषय भयो । अनलाइनका नाममा अहिले देखिएका समस्यालाई काउन्सिलले सम्बोधन गर्नैपर्छ,’ अनलाइनमा पत्रकार आचारसंहिताको अवस्था, सूचीकरण एवं वर्गीकरण विषयमा आयोजित एक कार्यक्रममा सेतोपाटी डट कमका प्रधान सम्पादक अमित ढकालले भन्नुभयो ।

दर्ता नभई चलेका अनलाइन माथि कडा निगरानी गरिनु पर्ने र दर्ता भएर आचार संहिता उल्लङ्घन गर्नेका हकमा समेत प्रभावकारी अनुगमन हुनुपर्ने सुझाव राख्नुभयो ।

‘राज्यका नियामक निकायमा दर्ता हुने अनि बेथिति साथ सञ्चारमाध्यम चलाउनेमाथि काउन्सिलले के गर्दै आएको छ ?’ ढकालको प्रश्न थियो ।

प्रेस काउन्सिल नेपालको सभाहलमा आयोजित कार्यक्रममा अनलाइन खबर डट कमका प्रधान सम्पादक शिव गाउँले, बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधान, इकागज डट कमका प्रधा नसम्पादक हरिबहादुर थापा र रातोपाटी डट कमका प्रधान सम्पादक अरुण बराल सहितले अनलाइन व्यवस्थापनबारे विभिन्न सुझावहरू राख्नुभएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका अनलाइन खबर डट कमका प्रधानसम्पादक शिव गाउँलेले काउन्सिलले अन्य सामाजिक सञ्जालभन्दा अनलाइनमा केन्द्रित भई नियमन गर्न सुझाउनु भयो ।‘अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन गर्दै हुने नियमनले मिडिया प्रभावकारी हुन्छ । काउन्सिल थप प्रभावकारी हुन्छ’, गाउँलेले भन्नुभयो ।

बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधानले आचार संहिता पालना गर्ने र नगर्ने सञ्चारकर्मीको फरक काउन्सिलले छुट्याउनुपर्ने धारणा राख्नुभयो ।

इकागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापाले पछिल्लो समय काउन्सिलले सक्रियता बढाएकोले राम्रो सन्देश गएको भन्दै नियतैले गरेको गल्ती हो कि मानवीय त्रुटी छुट्याउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

रातोपाटी डट कमका प्रधानसम्पादक अरुण बरालले काउन्सिललाई अझै सञ्चारमैत्री बन्न र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय अनलाईनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको जानकारी दिँदै भन्नुभयो–‘काउन्सिललाई अझ सशक्त र प्रभावकारी बनाउन काउन्सिलको वर्तमान टिम सोच–विचारका साथ लागिरहेको छ ।’

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल, उपप्रशासकीय अधिकृत (आचारसंहिता, अनुगमन तथा उजुरी सुनुवाइ महाशाखा प्रमुख) रामशरण बोहरासहितले पछिल्ला दिन काउन्सिलमा भइरहेका काम उल्लेख गर्नुभएको थियो ।